राजनीति

नेपाल र चीनका कम्युनिष्टबीचको भिन्नता,देश र जनताका लागि कहिले सोच्ने

उनीहरुका लागि विकास र समृद्धि भनेको सबै काम सकिएर सोच्न भ्याए गर्नेे काम मात्रै बनेको छ ।


काठमाडौँ – आजको युगमा कम्युनिष्ट विचारधारा डेट एक्सपायर भएको धेरै विद्वानहरुको टिप्पणीकाबीच नेपालमा भने कम्युनिष्ट विचारधारा जबर्जस्त छ । नेपालमा कम्युनिष्ट विचार राख्नेहरु यति धेरै छन् कि यसका विरुद्धमा जानेहरु संकटमा पर्न सक्छन् । तर मूल विचारधारा भएको चिनियाँ कम्युनिष्ट पार्टीले चीनमा चमत्कार गर्दा नेपालका कम्युनिष्ट पार्टीहरु भने किन आपसमा भिडन्त गरेर देशबासीलाई दुःख मात्रै दिइरहेका छन् त ?

विश्व महाशक्तिका रुपमा उदाँउदै गरेको चीन र नेपालमा एक समानता छ । दुबै देशमा कम्युनिष्ट विचारधारा बोक्ने पार्टी शासन सत्तामा छन् । धेरैले चीनको विकासलाई देखाएर कम्युनिष्ट विचारधारा वा शासन राम्रो र उत्कृष्ट भन्ने दावी गर्छन् । नेपालमा नेकपा एमालेले शासन सत्ता सम्हालिरहेको अहिलेको समयमा चीनमा चाहिँ कम्युनिष्ट पार्टी अफ चाइना अर्थात सिपिसीको हातमा सत्ता रहेको छ । जसले चीनमा स्थायी रुपमा शासन गर्दै आएको छ । चिनियाँ कम्युनिष्ट पार्टी र नेपालका कम्युनिष्ट पार्टीको मूल विचारधारा एकै हो । तर चीन विकासको शिखरमा रहँदा नेपालका कम्युनिष्टहरु भने सधै सत्ता स्वर्थमा रुमलिएर देशबासीलाई दुःख दिनमै व्यस्त देखिन्छन् ।

चिनियाँ कम्युनिष्ट पार्टीमा ९ करोड २० लाख मानिसहरु सदस्य भएका छन् । नेपालमा चाहिँ नेकपा एमालेसँग सात आठ लाख मानिसहरु पार्टी सदस्य छन् । ९ करोड २० लाख पार्टी सदस्य भएको चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय कमिटीमा २०५ जना केन्द्रीय सदस्य मात्रै छन् । बैकल्पिक केन्द्रीय सदस्यका रुपमा १७१ जना छन् । नेपालमा भने केपी शर्मा ओली एक्लैले नेकपा विवादकै बीच १ हजार केन्द्रीय सदस्य थपिदिएका थिए । विभाजनअघि नेकपामा ४४५ केन्द्रीय सदस्य थिए । चिनियाँ कम्युनिष्ट पार्टीमा पोलिटब्युरो स्ट्यान्डीङ कमिटीमा जम्मा आठ सदस्य छन् । नेकपा एमालेमा २४ जना छन् । चिनियाँ कम्युनिष्ट पार्टीमा सि जिन पिङ धेरै वर्षदेखि महासचिव छन् । राष्ट्रपतिको रुपमा उनी केही वर्षदेखि ढुक्कले काम गरिरहेका छन् । उनको कार्यकाल कति वर्षसम्मको हुन्छ भन्ने त्यहीको कम्युनिष्ट पार्टीले निर्धारण गर्छ । पार्टी सदस्यता र संख्याको दृष्टिले यो संसारको सबैभन्दा ठूलो सो राजनीतिक दल ढुक्कले चलेको छ भने सरकार पनि ढुक्कले चलाएको छ । तर त्यही किताब पढेका नेपालका कम्युनिष्ट किन सधै आपसमा भिडन्त मात्रै गरिरहन्छन् त ?

अहिले चिनियाँहरु माओवाद छाडेर पैसा कमाउने सूत्र पढिरहेका छन् । धेरैभन्दा धेरै वस्तु उत्पादन गरेर विश्वलाई बेचिरहेका छन् । तर नेपालमा आर्थिक समृद्धि नारामा मात्र सिमित भएको छ भने एमालेको आन्तरिक कचिंगलले ३ करोड नेपालीको भविष्य अन्धकारतर्फ मोडिएको छ । एमालेकै एकथरी नेताहरु देश बर्बाद हुनुमा केपी ओलीलाई कारक ठान्छन्, अर्का थरी माधव नेपाल समूहलाई ठान्छन् । दुवै समूहको प्रमुख चाहना मुलुकको विकास नभई पार्टी कब्जा र सत्ता सुख मात्रै हो । उनीहरुका लागि विकास र समृद्धि भनेको सबै काम सकिएर सोच्न भ्याए गर्नेे काम मात्रै बनेको छ ।