कोरोना विशेष

कोरोना खोप लगाउनेको भिडले संक्रमण फैलने जोखिम,बृद्धबृद्धा घण्टौ कुर्न बाध्य

कोरोनाबाट बच्न खोप लगाउन आएकाहरु भाइरस लिएर जाने खतरा बढेको छ ।


काठमाडौँ – हिजो मंगलबारदेखि ६० देखि ६४ वर्ष उमेर समूहका जेष्ठ नागरिकहरुलाई खोप लगाउन सुरु गरिएको छ । काठमाडौँ उपत्यकामा पहिलो डोज लगाएर दोश्रो डोज लगाउन छुटेका तथा यसअघि खोप लगाउन छुटेका स्वास्थ्यकर्मी, मेडिकल कलेजका विद्यार्थी समेतलाई काठमाडौँको नारायणटारस्थित कोरोना खोप केन्द्रबाट खोप लगाईदै छ । तर कोरोना महामारीविरुद्ध अहिलेसम्मको भरपर्दाे ओखती मानिएको खोप लगाउन तोकिएको केन्द्रको व्यवस्थापन भद्रगोल छ जसबाट खोप केन्द्रबाट नै संक्रमण फैलने जोखिम बढेको छ । खोप लगाउन आउने बृद्धबृद्धाको संख्या उच्च छ तर यहाँ न त स्वयंसेवक देखिन्छन न व्यवस्थापनमा खटिएका अरु कोहि । खोप लगाउन टोकनको व्यवस्था गरिएको भएपनि त्यो पाउन नै घण्टौ कुर्नुपर्ने अवस्था छ ।

व्यवस्थापनमा देखिएको यो भद्रगोल अवस्थाले बृद्धाबृद्धाहरु भात पानी नभनी विहानैबाट पालो कुर्न बाध्य छन । कोरोनाबाट बच्न खोप लगाउन आएकाहरु भाइरस लिएर जाने खतरा बढेको छ । कतिपयले पहूचका भरमा टोकन बाड्ने गरेकोले आफ्नो पालो नआएको गुनासो समेत गरे ।

खोप अभियान २९ जेठसम्म चल्नेछ । बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म नजिकको वडाको खोप केन्द्रमा गएर खोप लगाउन सकिनेछ भने खोप लगाउन उमेर खुल्ने परिचय पत्र साथमा लैजानुपर्छ । सरकारी कागजात नभएकाको हकमा भने वडा कार्यालयबाट उमेर खुलेको सिफारिस पत्र लिएर जान काठमाडौं महानगरपालिकाले अनुरोध गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि खोप लगाउन जान सचेतता अपनाउन आग्रह गरेको छ । केन्द्रबाटै कोरोना संक्रमणको जोखिम हुनसक्ने भन्दै सामाजिक दूरी कायम गर्न तथा स्वास्थ्य मापदण्ड कडाईका साथ पालना गर्न आग्रह गरेको हो ।

कोरोना महामारी विरुद्धको लडाई जित्न यथासक्य सबै नागरिकलाई खोप लगाउनुको विकल्प छैन । तर व्यवस्थापनमा देखिएको यो कमजोरीको मुल्य भने भारी पर्न सक्छ । एक त सो समुहका व्यक्तिहरुमा कोरोनाको जोखिम उच्च हुन्छ भने अर्कातर्फ विना खाना घण्टौ कुर्नुपर्दा अझ प्रताडित बन्नु परेको छ । यसर्थ कोरोना संक्रमण फैलिने केन्द्र बन्न सक्ने जोखिम निराकरणका लागि उचित ध्यान जान जरुरी देखिन्छ ।