समाचार

निषेधाज्ञामा खान नपाउनेको भीड सडकमा : निम्‍नवर्गीय नागरिकको जीवन सोचेभन्दा कष्टकर


काठमाडौँ – कोरोना संक्रमण नियन्त्रणका लागि जारी निषेधाज्ञा लम्बिदै जाँदा निम्नवर्गिय नागरिकको जीवन थप कष्टकर बनेको छ ।
दैनिक ज्यालादारीबाट जीवन निवार्ह गर्दै आएकाहरुले रोजिरोटी गुमेसंगै सडकलाई नै आफ्नो बासको थलो बनाउन थालेका छन् । सडकमानव मुक्त नेपाल बनाउने सरकारको घोषणाका बीच यतिवेला यस्ता थुप्रै मानिस सडकमा भेटिन्छन । जो कस्ले खाना देला भनेर पर्खिरहेका छन ।
सत्ता सर्वहारा बर्गको उत्थान लागि राजनीति गर्नेहरुको छ । सरकारले बारम्बार दोहो¥याउछ कोही नेपाली भोको बस्न पर्दैन, कोही भोको मर्नु पर्दैन । देश सडक र सहयोगापेक्षी मानवमुक्त बनाईदिने कुरा प्रत्येक भाषणमा छुट्दैन । नेपालीका दुःख र अवस्था नजिकैबाट देखेको छु भन्ने प्रधानमन्त्री बढो लालित्यपूर्ण बोल्छन सरकार गरिब र निमुखका लागि हो भनेर । विपक्षी दलहरुको पनि दाबी कम छैन । संकटका बेला पनि राजनीतिक खिचाँतानीमा ब्यस्त भएका उनीहरु भन्छन हामी जनताकै लागि लडेका हौ । जनताकै लागि राजनीति गरेका हौ । तर आफ्नो राजनीतिक स्वार्थका लागि हजारौँलाई सडकमा उत्राने उनीहरुले यस्ता दृश्य देख्दैनन् शायद ।

अचेल यस्ता दृश्यहरु शहरका सडकपेटी र मन्दिरका छेउछाउमा बग्रेल्ती देखिन्छ । निषेधाज्ञाले धेरैको रोजगारी खोसेको छ । यसरी रोजगारी खोसिनेमा दैनिक ज्यालादारी गरेर गासको जोहो गर्दै आएका मजदुरहरुको संख्या पनि ठूलो छ । जो रोजीरोटी गुमेसंगै सडकमा आईपुगेका छन् । काम गुमेपछि भात खानकै लागि कस्ले देला भन्ने आशामा दिन कटाउन बाध्य उनीहरुसँग भाडा तिर्ने पैसा हुने कुरै भएन । जस्का लागि शहारा बनेको छ । यहि सडक ।
हुने खानेका लागि त यो समय पारिवारिक मिलनको समय होला । आफ्ना विरुद्ध मान्छे सडकमा आउन नपाउने भएकोले सरकारलाई पनि हाईसन्चो होला । तर हुँदा खानेका लागि शायदै यस्तो समय नआउला । एक दिनमात्र विरामी भएपनि हातमुख जोर्न पाउदैनन् । झन् अहिले त निषेधाज्ञा भएको महिना दिनभन्दा धेरै भएको छ । हालत उनीहरुको कस्तो होला ? सहजै अनुमान लगाउन सकिन्छ ।
नागरिकलाई गाँस बास र कपासको व्यवस्था गर्ने काम सरकारको हो । तर यहाँ त केही मनकारी मनका मान्छेहरुले त्यो जिम्मेबारी बहन गरिरहेका छन् । थाहा छैन कति दिन पर्याप्त हुन्छ यो सानो प्रयास । सरकार दुई केजी पिठो छुटमा दिएर आफ्नो जनकल्याणकारी कदमको चर्चामा ब्यस्त छ । गत वर्ष केही राहत बाडेजस्तो गरेको सरकार यो पल्ट चुप छ । सत्ता र कुर्सी बचाउने खेलमा व्यस्त उसका लागि शायद यी भूईमान्छेबारे सोच्ने फुर्सद छैन होला ।