राजनीति

अचानक प्रधानन्यायाधीश बिरामी, आज बस्ने भनिएको इजलास पनि स्थगित


काठमाडौँ – प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा आज हुने भनिएको संवैधानिक इजलासमा सुनुवाई नहुने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा बिरामी परेपछि आज बस्ने भनिएको संवैधानिक इजलास नबस्ने भएको हो ।

प्रधानन्यायाधीश राणाले आज आफू बिरामी भएको जानकारी सर्वोच्च अदालत प्रशासनलाई दिइसकेको छ । उनी बिरामी परेपछि कर्मचारीले संवैधानिक इजलासमा रहेका अन्य न्यायाधीशलाई आज इजलास नबस्ने सूचना दिएको संवैधानिक इजलासमा रहेका एक न्यायाधीशले जानकारी दिएका छन् ।

प्रधानन्यायाधीश राणालाई खास के भएको हो भन्नेचाँही यकीन भईसकेको छैन । सर्वोच्च स्रोतका अनुसार संवैधानिक इजलासको अर्को पेसी बुधबार तोकिनेछ।

गत शुक्रबारदेखि नै प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा बहस सुरु भए पनि मुल मद्दामा प्रवेश गर्न नसक्दा सोमबार तीन दिनको दिनसम्म पनि यस विषयमा सुनुवाई हुन सकेको छैन ।