राजनीति

जसपाको आधिकारिकताबारे निर्णय छिट्टै निर्णय गर्ने निर्वाचन आयोगको तयारी


काठमाडौँ – निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा)का अध्यक्षद्वय एकले अर्कालाई गरेको कारवाहीबारे आवश्यक कागजात आइतबार साँझसम्म बुझाउन निर्देशन दिएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले राजनीतिक दलसम्बन्धी नियमावली २०७३ अनुरुपका कागजात आइतबार साँझसम्म बुझाउन निर्देशन दिएका हुन् ।

‘जनता समाजवादी पार्टीका अध्यक्षद्वय उपेन्द्र यादव र महन्थ ठाकुरले एकले अर्कालाई अनुशासनको कारवाही गरिएको जानकारी आयोगमा गराउनु भएको थियो । तर, उहाँहरूले बुझाएको पत्रमा राजनीतिक दलसम्बन्धी नियमावली २०७४ को अनुसूची १८ बमोजिमको ढाँचा पुगेको थिएन,’ प्रमुख आयुक्त थपलियाले इकागजसँग भने, ‘त्यो ढाँचा अनुरुप अनुसूची १८ को फाराम भरेर आइतबार साँझसम्म बुझाउन भनेका छौं ।’

यादव समूहले भने आयोगले पठाएको पत्र बमोजिमका कागजात बिहीबार नै बुझाएको छ । ‘हामीलाई आयोगले राजनीतिक दलसम्बन्धी नियमावली २०७४ को अनुचुची १८ बमोजिमको ढाँचामा विवरण पठाउन भनेको थियो,’ यादवका प्रेस संयोजक महेश चौरासियाले भने, ‘हामीले त्योसहित कार्यकारिणी समितिको ८ र १७ जेठको बैठकका निर्णयको माइन्यूट, विधान, संशोधित विधान र निवेदन बिहीबार नै बुझाइसक्यौ ।’

ठाकुर समूहलाई आयोगले केन्द्रीय कार्यकारिणी समिति बैठकको निर्णयको हस्ताक्षरसहितको माइन्यूट र अनुसूची १८ अनुरुपको फाराम भरेर पठाउन भनेको थियो । तर, उसले अहिलेसम्म बुझाएको छैन ।

यादवले मंगलबार अध्यक्ष महन्थ ठाकुर, राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई पार्टीको साधारण सदस्यबाटै निष्कासन गरेको पत्र आयोगमा पठाउँदै दर्ता किताबाट नाम हटाउन आग्रह गरेका थिए । त्यसको ‘काउन्टर’ मा ठाकुर पक्षले यादवलाई पनि पार्टीबाट निष्कासन गर्दै उस्तै व्यहोरा आयोगमा जानकारी दिएको थियो । आयोगले बुधबार दुवै पक्षले पठाएका पत्र कानुन बमोजिम नभएका भन्दै खारेज गरेर राजनीतिक दलसम्बन्धी नियमावली २०७४ को अनुसूची १८ बमोजिमको फाराम भरेर बुझाउन भनेको थियो ।

आयोगको पत्रको जवाफ यादव समूहले बिहीबारै बुझाए पनि ठाकुर समूहले अहिलेसम्म बुझाएको छैन ।