राजनीति

जसपा सरकारमा सामेल हुने अन्तिम अभ्यासमा, आजै ओलीसँग भेट गर्ने


काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा) नेपालको महन्थ ठाकुर पक्ष सरकारमा सहभागी हुने अन्तिम तयारीमा रहेको छ । जसपाबाट पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोको नेतृत्वमा सरकारमा जाने सहमति भएको हो । उनी जसपाका संसदीय दलका नेता पनि हुन् ।

मन्त्रीको नाम चयन गर्ने विषयमा सहमति जुटे आजै सरकारमा सहभागी हुने सम्भावना रहेको ठाकुर पक्षका नेताहरुको भनाइ छ । महतोबाहेक अरु को को सरकारमा जाने टुङ्गो लागेको छैन । नाममा टुङ्गो लगाएर आजै एक बजे प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओलीसँग पुनः छलफल गरी यसलाई अन्तिमरुप दिने तयारीमा जसपा रहेको छ ।
सरकारमा सहभागी हुने विषयमा बिहीबार पनि ठाकुर ओलीसँग छलफल भएको थियो । जसपाबाट ८ जना मन्त्री र दुईजना राज्यमन्त्री सरकारमा जाने सहमति भएको छ । छलफलमा सहभागी कार्यकारिणी समितिका सदस्य शरतसिंह भण्डारीले सरकारमा जाने कुरा पक्कापक्की भइसकेको र अहिले पार्टीमा त्यसैलाई अन्तिमरुप दिन छलफल भइरहेको उनले बताए ।
मन्त्रीहरुको आकांक्षीमा राजेन्द्र महतोसहित शरतसिंह भण्डारी, अनिलकुमार झा, राजकिशोर यादव, लक्ष्मणलाल कर्ण, सर्वेन्द्रनाथ शुक्ला, चन्दा चौधरी, प्रमोद साह, अकवाल अहमद, अकवाल मियाँ, अमृत अग्रहरी, वृषेशचन्द्र लाल, राजकुमार चौधरी, डा।सुरेन्द्र झा, उमाकान्त झालगायतका रहेका छन् । गैर सांसद पनि मन्त्री बन्न पाउने प्रावधान भएकाले मन्त्रीको आकांक्षी धेरै देखिएका छन् ।