राजनीति

रहेनन् नयाँ राजनीतिक आयमका अभियन्ता उज्ज्वल थापा (भिडियोसहित)


काठमाडौँ – विवेकशील साझा पार्टीका पूर्वसंयोजक उज्ज्वल थापाको निधन भएको छ । कोरोना भाईरस संक्रमित भई मेडिसिटी अस्पतालमा उपचाररत उनको आज निधन भएको हो । उनको उपचारका लागि देश तथा विदेशबाट ठुलो सहयोग मिलेको थियो । एक राजनीतिक व्यक्तित्वका लागि यतिको सहयोग र सद्भाव मिल्नु उनको राजनीतिक र सामाजिक कामको परिणाम हो । आखिर को हुन उज्वल थापा ?

आफूलाई राजतिनिक अभियन्ता बताउने उज्वल थापा विवेशील साझा पार्टीका पूर्व संयोजक हुन । ४४ वर्षीय थापा देशका अरू राजनीतिज्ञका भिडमा ‘अपवाद’ भएको धेरैको बुझाई छ । उनले नेपालीहरुलाई एक बनाई देशलाई संमृद्ध बनाउनको निमित्त राजनीतिबाटै निकास दिनुपर्छ भन्ने उदेश्यका साथ विवेकशील नेपाली नामक संस्था गठन गरेका थिए । पेशाले वेब डिजाईनर उनले समाज परिवर्तनका लागि धेरै अभियानहरुको नेतृत्व गरे ।

राजनीतिक स्वार्थका लागि भईरहने नेपाल बन्दका विरुद्ध लड्न २०६७ सालमा बन्द विरुद्धको समूह बनाए । यो समूहले बन्दको बिरुद्ध साधारण नेपालीहरुलाई निडर बनाउने र नेपाल “खुल्ला” छ भन्ने आभाष दिलाउने काम ग¥यो । असहमतिका मुद्दाको विरोधमा तोडफोड र नारा–जुलुसको परम्परालाई तोड्दै उनले विरोधको नयाँ शैली निकालेका थिए ।

जसले समाजका बौद्धिक वर्ग र युवायुवतीलाई आकर्षित गरेको थियो । थापाले “परिवर्तनको लागि हामी नेपाली एक” वा “नेपाल युनाईटस” भन्ने नागरिक अभियान स्थापना गरे । नेपाल युनाईटसले समाजका बिभिन्न नागरिक पेशावर अगुवाहरु र गैर–राजनीतिक युवाहरुलाई एकै ठाँउमा लिएर आयो र देशको राजनीतिलाई हल्लायो । “ज्याला पूरा लियौ, अब संबिधान देऊ” भन्ने नारा बोकी खुब दवाव दिएको यो अभियानको देश–बिदेश चर्चा भयो भने राजनीति गर्नेहरुलाई धेरै दवाव पर्यो ।

पहिलो संविधानसभा विघटन हुनुपूर्वको अभियान पश्चात उनले धेरैको ध्यान खिचे । उनी प्लेकार्ड बोकेर आन्दोलनमा उत्रे । समाजका बेथितिमाथि निरन्तर प्रश्न गर्दै सत्तालाई हरेक दिन खबरदारी गर्ने थापालाई प्राय सडकमै देखिन्थ्यो । त्यसकारण पनि उनलाई धेरैले सरल र इमानदार राजनीतिज्ञका रूपमा चिने । प्राकृतिक विपदका बेला पनि उनको समूह देखिने गरी सहयोगमा जुट्यो, फलत उनी आम नागरिकको समस्यामा अझ नजिक बने ।

०६९ सालपछि उनले एउटा वैकल्पिक शक्ति बनाउने भनेर केहि साथीसंग मिलेर विवेकशील नेपाली नामक दल खोले । यो दल संविधानसभाको दोस्रो निर्वाचनलगत्तै २९ जेठ ०७१ मा निर्वाचन आयोगमा दर्ता भएको थियो । थापाले दोश्रो संविधान सभा निर्वाचनमा काठमाडाँै क्षेत्र नम्बर ५ बाट निर्वाचन समेत लडेका थिए । सो निर्वाचनमा पराजीत भएका उनले साझा पाटींसँग एकतापश्चात २०७४ को प्रतिनिधि सभाको निर्वाचनमा पनि भाग लिए । तर एमाले महासचिव ईश्वर पोखरेलसँग उनी परापजित भए ।

उनको पार्टीले संगठन ठूलो बनाउन सकेन, तर कार्यशैली र मुद्दा उठानको कोणबाट पहिचान देश–विदेशमा बनायो भने युवामा नेतृत्व हस्तान्तरणको अभ्यास समेत सुरु ग¥यो । यसरी फोहोरी राजनीति सफा गर्न राजनीतिमै होमिएका र स्वच्छ राजनीतिका लागि बैकल्पिक शक्तीको वकालत गरेका उनी आजबाट हामी माझ रहेनन् । थापा प्रति भावपूर्ण श्रद्धाञ्जलि ।।