राजनीति

सुकेटार विमानस्थलको नाम परिवर्तन गर्ने सरकारको घोषणाप्रति भट्टराई असन्तुष्ट


काठमाडौँ – ताप्लेजुङको सुकेटार विमानस्थलको नाम फेर्ने सरकारको घोषणाप्रति नेकपा एमालेका नेता योगेश भट्टराईले असन्तुष्टि जनाएका छन् । सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेटमार्फत् सुकेटार विमानस्थलको नाम रवीन्द्र अधिकारी विमानस्थल नाम राख्ने घोषणा गरेपछि भट्टराईले नामकरण प्रक्रियाप्रति असन्तुष्टि जनाएका हुन् ।

नेता भट्टराईले कुनै पनि स्थानहरूको परिचय परिवर्तन गर्न खोज्नुअघि स्थानीइ बासिन्दासँग छलफल गर्नुपर्ने बताएका छन्।
“ऐतिहासिक रुपमा कुनै नाम वा विशेषताबाट चिनिएका स्थानहरूको परिचय बदल्नुभन्दा अघि त्यसको आवश्यकता, औचित्यता, सान्दर्भिकता र परिणामबारे स्थानीय सरोकारवाला समूह, जनप्रतिनिधि सहित नागरिक स्तरमा ब्यापक छलफल र बिमर्श गरी सहमति निर्माण गर्नुपर्दछ।” उनले आइतबार बिहान फेसबुकमा लेखेका छन्, ‘असल काम पनि असल नियत र सही प्रकृयाबाट गरियो भनेमात्र सही परिणाममा पुग्न सकिन्छ । अन्यथा विवाद, विभाजन र अनावश्यक तनावमात्र झेल्नु पर्दछ ।’
सरकारले सुकेटारसँगै तेह्रथुमको चुहानडाँडा विमानस्थलको नाम पनि परिवर्तन गर्ने घोषणा गरेको छ। चुहानडाँडा विमानस्थलको नाम आङ छिरिङ शेर्पाको नाममा परिवर्तन गर्ने बजेट भाषणमा घोषणा गरिएको छ । ताप्लेजुङमा १५ फागुन २०७५ मा एयर डाइनेष्टी हेलिकोप्टर दुर्घटना हुँदा अधिकारी र शेर्पा सहित सात जनाको निधन भएको थियो।