कोरोना विशेष

बजेटमा स्वास्थ्य क्षेत्र सरकारको प्राथमिकतामा, १ खर्ब २२ अर्ब ५० करोड बजेट विनियोजन (भिडियोसहित)


काठमाडौँ – कोरोना महामारीलाई मध्यनजर गर्दै सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बजेट बढाएको छ । अर्थमन्त्री विष्णु पौडेलले आज सार्वजनिक गरेको आर्थिक वर्ष २०७८/७९ को बजेटमा स्वास्थ्यका लागि १ खर्ब २२ अर्ब ५० करोड बजेट विनियोजन गरेका छन् । जसमध्ये कोरोनाविरुद्धको खोप किन्नको लागि मात्र २६ अर्ब ७५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

गत वर्ष स्वास्थ्यको बजेट ९० अर्ब ६९ करोड रुपैयाँ थियो । तर कोरोना भाइरस नियन्त्रण विश्वकै चुनौतिको रुपमा अगाडि आएपछि सरकारले यो वर्ष स्वास्थ्यका लागि मात्र १ खर्ब २२ अर्ब ५० करोड बजेट विनियोजन गरेको छ । सरकारले औषधि खरिदका लागि ५ अर्ब ६० करोड बजेट बिनियोजन गरेको छ । त्यसैगरीे निशुल्क रुपमा उपलब्ध गराउँदै आएको ७० प्रकारको औषधि सबै स्वास्थ्य संस्थामा उपलब्ध हुने अर्थमन्त्रीले बताए ।

औषधिको मूल्य र गुणस्तरको नियमित अनुगमन समेत गरिने उनले बताए । अर्थमन्त्री पौडेलका अनुसार आगामी आर्थिक वर्षको बजेटमा कोरोना खोपका लागि २६ अर्ब ७५ करोड रकम बिनियोजन गरिएको छ भने कोभिड–१९ को उपचार र रोकथामका लागि ३७ अर्ब ५३ करोड छुट्याइएको छ ।

अध्यादेशमार्फत बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले कोरोनाको परीक्षण र उपचार निःशुल्क गरिने घोषणा पनि गए । कोरोना सङ्क्रमितको लागि सबै प्रकारको अस्पताल तथा स्वास्थ्य संस्थाबाट उपचार सेवा उपलब्ध गराउन सेन्टर कमाण्डको मातहत कार्यन्वयनमा ल्याइने बजेटमा उल्लेख छ ।

त्यस्तै कोरोना उपचारमा संलग्न हुने स्वास्थ्यकर्मी, प्रयोगशालामा काम गर्ने कर्मचारी, सफाइकर्मी र कोभिड रोकथाममा प्रत्यक्ष रुपमा खटिने सुरक्षाकर्मीलाई प्रदान गरिने जोखिम भत्ता लगायतका अरु सुविधा सङ्क्रमण जोखिम कायम रहेको अवधिसम्मको लागि निरन्तरता दिइएको पनि अर्थमन्त्रीले बताए ।

विपन्न नागरिकलाई मुटु रोग, मृगौला रोग, क्यान्सर, पार्किन्सन, अल्जाइमर्स लगायतको उपचार गर्न हाल प्रदान गरिएको अनुदान र १४ वर्ष मुनिका वालबालिका एवम् ७० वर्ष मथिका जेष्ठ नागरिकको मुटु रोगको निशुल्क उपचार सुविधालाई निरन्तरता दिन रु २ अर्ब पचास करोड विनियोजन गरिएको अर्थमन्त्रीले जानकारी दिए ।