समाचार

चिकित्सकमाथि हातपात गर्ने तीनजना प्रहरी नियन्त्रणमा


काठमाडौँ – कोभिड–१९ संक्रमितको उपचारका क्रममा मृत्यु भएपछि बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालमा चिकित्सक र स्वास्थ्यकर्मीमाथि आक्रमण गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । मृतकका आफन्तबाट भएको आक्रमणमा परि चार जना नर्सिङ स्टाफ र एक जना चिकित्सक घाइते भएको अस्पतालले जनाएको छ ।

घटनामा संलग्न रहेको आरोपमा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ उरहरीका मानबहादुर रावत, भरत रावत र लोकराज रावतलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । उनीहरूमध्ये मानबहादुर मृतकका भाइ हुन् भने बाँकी २ जना मृतकका छोराहरू रहेको प्रहरीले जनाएको छ ।

जेठ ४ गते देखि भेरी अस्पतालमा उपचाररत दाङका ५४ वर्षीय डिल्ली बहादुर रावतको उपचारका क्रममा बिहीबार राति ८ बजेतिर मृत्यु भएपछि उनका आफन्तहरूले स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नुका साथै अस्पतालको आईसीयू कक्षमा तोडफोड गरेका थिए ।

मृतकको कुरुवा समेत रहेका मानबहादुर रावतसहितको समूहले नर्सिङ स्टाफमाथि हातपात गरेको, चिकित्सकलाई आक्रमण गरेको र आइसीयू कक्ष तोडफोड गरेको अस्पताल विकास समितिका सदस्य कृष्ण प्रसाद श्रेष्ठले जानकारी दिए । स्वास्थ्यकर्मीमाथि आक्रमणको चौतर्फी निन्दा भइरहेको छ ।

असुरक्षा रहेको भन्दै भेरी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरु आज काममा आएका छैनन् । दोषीलाई कारबाही माग गर्दै स्वास्थ्यकर्मीहरुले आजदेखि काम छाडेको अस्पतालका डाक्टर प्रकाश थापाले जानकारी दिए । उनले भने, ‘सेवा गर्दा जिउ ज्यानको सुरक्षा चाहियो । कुटपिटमा परेर काम गर्न सकिँदैन ।’ मृतकका आफन्तले डाक्टर दीपक गुप्ता, चन्द्रप्रकाश साहु, समा अनसारी, नर्स आश्विन गुरुङ, सदीषा गैरे, बन्दना श्रेष्ठलाई कुटपिटसहित हातपात गरेका थिए ।

अहिले दोषीमाथि कारबाहीको माग गर्दै चिकित्सक एवं कर्मचारीहरूले भेरी अस्पतालमा आन्दोलन गरेका छन् । उनीहरूले सुरक्षाको प्रत्याभूति नभएसम्म र दोषीलाई कारबाही नभएसम्म नयाँ बिरामी भर्ना लिन नदिने अडान लिएर आन्दोलन गरिरहेका छन् । घटना छानविनका लागि प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा अहिले सरोकारवालाहरुसँग छलफल भइरहेको छ । उक्त घटनामा संलग्न मान बहादुर रावत नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य हुन् ।