काठमाडौँ – पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा बिहीबार मध्यरातदेखि बिहान ४ बजेसम्म अक्सिजनकै अभावले सुत्केरी महिलासहित ६ जनाले ज्यान गुमाएका छन् । अस्पतालमा एक्कासी अक्सिजनको अभाव भएको र हाइफ्लो दिएर उपचार भइरहेका बिरामीले सोही अनुसार अक्सिजन नपाउँदा मृत्यु भएको हो ।
तनहुँका ३ जना, म्याग्दी, पर्वत १ र स्याङ्जाका १ जनाको ज्यान गएको हो । अक्सिजन उद्योगले पयर्णप्त अक्सिजन सिलिन्डर पठाएको बताउँछ तर सरकारी अस्पतालमै अक्सिजनको अभावले बिरामीले ज्यान गुमाउनु पर्ने अवस्थाको सिर्जना भएको हो । हाइफ्लो अक्सिजन नपाएर ज्यान गुमाएका संक्रमितका आफन्तले बेलैमा सचेत गराइदिएको भए आफैं जसरी पनि जोहो गर्ने बताउँछन्।
ज्यान गुमाउनेहरूमा शनिबार अप्रेसन गरेर सुत्केरी भएकी एक महिला, १ जना डायलोसिस गरिरहेका, १ जना कलेजोमा समस्या आएका र १ जना डायबिटिजको जटिलता भएका बिरामी रहेका छन् भने अन्य संक्रमितमा सामान्य स्वास्थ्य समस्यामात्र रहेको अस्पतालले जनाएको छ। कोभिड अस्पतालका फोकल पर्सन डा.शरद बरालले हाइफ्लो अक्सिजन नपाउँदा सुत्केरीको ज्यान गएको देखिएको र बाँकीमा अन्य दीर्घ रोगले बढी च्यापेको देखिएको बताए । अस्पतालमा हाइफ्लोका बिरामी बढ्दा एक्कासी अक्सिजनको समस्या देखिएको डा.बरालको भनाइ छ ।
पोखरा स्वाथ्य विज्ञान प्रतिष्ठान कोभिड–१९ को उपचार गर्ने गण्डकी प्रदेशकै ठूलो संघीय अस्पताल हो । तर यहाँ अस्पतालको आफ्नै अक्सिजन प्लान्ट छैैन ।
कोरोना विशेष
प्रतिक्रिया