समाचार

तीन देशमा अन्तर्राष्ट्रिय उडान खोल्ने निर्णय


काठमाडौँ – कोरोनाको भाइरसको दोस्रो लहर आएसँगै बन्द रहेको अन्तर्राष्ट्रिय हवाई उडान पुनः खोल्ने भएको छ । सरकारको बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले तीन देशमा नियमित उडान खोल्ने निर्णय गरेको हो।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालका अनुसार हिजाको मन्त्रिपरिषद् बैठकले जेठ १८ गतेदेखि चीन, कतार र टर्कीका लागि नियमित उडान खोल्ने निर्णय गरेको छ । तर ती देशमा साताको एक मात्र उडान हुनेछ । कतारको राजधानी दोहा, टर्कीको इस्तानबुल र चीनका कुनै पनि स्थानमा दोहोरो अन्तर्राष्ट्रिय उडान खुला गरेको उनले बताएका छन् ।
एअर बबल सम्झौता अन्तर्गत अहिले पनि भारतमा सातामा दुई उडान नियमित रूपमा भइरहेको छ । आन्तरिक उडान खोल्नेबारे भने अहिले कुनै निर्णय भएको छैन । अहिले पनि सङ्क्रमण नघटेकाले अहिले नै आन्तरिक उडान खोल्नेबारे नसोचिएको मन्त्री ढकालले बताए।

अन्तर्राष्ट्रिय उडान खुला गरिए पनि नेपाल आउनका लागि मापदण्ड तोकिएको छ । नेपाल आउनका लागि कोरोना विरुद्धको दुबै डोज खोप लागाएको र कोरोना परिक्षणको रिपोर्ट नेगेटिभ भएको हुनुपर्छ । साथै नेपाला आईसकेपछि पनि १० दिन होम क्वरेण्टीनमा बस्नुपर्ने छ । तर आगन्तुकले एउटा मात्र डोज खोप लगाएको छ र पीसीआर परिक्षण नेगेटिभ छ भने त्यस्तो व्यक्तिले विमानस्थलबाट काठमाडौंका कुनै होटलमा तीन दिन क्वरेण्टीन बस्नुपर्नेछ । तीन दिन पछि परिक्षण गर्दा कोरोना नेगेटिभ आएमा यात्रु सम्बन्धित गन्तव्यमा जान पाउनेछन् । होटल क्वरेण्टीन खर्च भने आफैंले बेहोर्नुपर्नेछ ।

एउटा पनि खोप नलगाएको तर पीसीआर रिपोर्ट नेगेटिभ लिएर आएका यात्रुले भने १० दिनसम्म होटेल क्वरेण्टीनमा आफ्नै खर्चमा बस्नुपर्नेछ । त्यसपछि परिक्षण गर्दा रिपोर्ट नेगेटिभ आएमा घर जान पाइनेछ ।
नियमित उडान बन्द भएका बेलामा पनि विभिन्न एअरलाइन्सले चार्डड उडान भने गरिरहेका छन् । वैशाख २३ गते मध्यरात देखि भारत बाहेक अन्य देशमा हुने अन्तर्राष्ट्रिय उडानमा सरकारले रोक लगाएको थियो । यस्तै भारतीय दूतावासको अनुरोधमा सरकारले नेपालमा रोकिएका भारतीय नागरिकलाई साउदी पुर्याउनका लागि १० चार्डड उडान अनुमति पनि दिएको थियो । साउदी गएका यी जहाजले त्यहाँ ज्यान गुमाएका केही नेपालीको शव भने ल्याएको छ ।