राजनीति

स्वास्थ्य प्रणाली माफियाको हातमा,नेताको उपचार देशको ढुकुटिबाट, जनता भने मर्न बाध्य (भिडियोसहित)


काठमाडौँ – स्ट्यान्डअप कमेडियन आदर्श मिश्राले आफ्ना बुवाको उपचार अभावमा ज्यान गएको भिडियो सार्बजनिक गरेपछि यतिबेला सामाजिक सञ्जाल तातिएको छ । केही समय अघिबाटै बारम्बार उनले नेपालको स्वास्थ्य प्रणालीमाथि बारम्बार प्रश्न उठाउदै आएका थिए । आखिर दुईदुई पल्ट मृगौला प्रत्यारोपण गरेका प्रधानमन्त्रीकै देशमा किन जनता उपचारमा अभावमा मृत्युवरण गरिरहेको छ त ?

सत्ता र राजनीतिक पहुँचका आधारमा प्रधानमन्त्री केपी शर्मा ओलीले दुई दुई पटक मिर्गौला प्रत्यारोपण गराए । मेडिकल माफिया भनेर चिनिनेहरुले नै प्रधानमन्त्रीको स्वास्थ्य उपचार खर्च पटक पटक व्यहोरेको तथ्यहरु सार्वजनिक हुँदै आएका छन् । मिर्गौला फेल भएपनि यो देशका नेताहरु कसरी पनि बाँच्छन् र नागरिक उपचार अभावमै कसरी सस्तैमा मर्नु पर्छ भन्ने एउटा मार्मिक भिडियो स्ट्यान्ड अप कमेडियन आदर्श मिश्राले आफ्ना बाबु विनोद मिश्रालाई गुमाएपछि सार्वजनिक गरेका छन् ।

भारतीय नागरिक उनकी ठुलीआमाले मृगौला दान गर्न खोजेपनि कानुनी प्रावधानका कारण आफ्नो पिताले मिर्गौला लिन नपाएको आदर्शले उल्लेख गरेका छन् । आदर्शले सिंगो स्वास्थ्य प्रणालीमाथि नै प्रश्न उठाएका छन् । आफ्ना बाबुको उपचारमा वसुरुद्दिन अन्सारी सञ्चालक रहेको नेशनल मेडिकल कलेज र सरकार मातहतको नारायणी उपक्षेत्रीय अस्पतालले लापरबाही गरेको मिश्राकोे दावी छ ।

नेशनल मेडिकल कलेज यसअघि पनि बारम्बार विवादमा तानिदै आएको छ । चिकित्सा अध्ययन गर्नेहरुबाट बढि शूल्क उठाएपछि गुन्डा लगाएर विद्यार्थीमाथि आक्रमण गराएपछि सञ्चालक वसुरुद्दिन अन्सारीमाथि कारबाहिको माग भएको थियो । तर सरकार भने बारम्बार गैरकानुनी काम गर्दै आएका यस्ता माफियाको संरक्षणमै व्यस्त छ ।

यतिमात्र होइन सत्तारुढ दलका आसेपासे अंरिगालहरु माफियाका विरुद्ध लड्दै अभियन्ता डा.गोविन्द केसीको विरुद्धमा उत्रिदै आएका छन् । तर अब सरकार र सत्तापक्षका अरिंगाल कार्यकर्ताहरुले यो पनि बुझ्न जरुरी छ कि स्वास्थ्य क्षेत्र मेडिकल माफियाको हातमा पुगिसकेको छ, जुन तथ्यमा ढाकछोप गर्न सम्भव छैन । नत्र माफियाहरुले सिधै यसरी धम्की दिन कहाँ सक्थे र ?

हुन त नेपालको स्वास्थ्य प्रणाली कोल्याप्स भईसकेको स्वास्थ्य क्षेत्रकै जानकारहरुले बताँउदै आएका छन् । त्यसमा पनि आदर्श मिश्रले भोग्नु परेका घटनाहरुले नागरिकको स्वास्थ्य उपचार पाउने मौलिक हकप्रति सरकारको निर्लज्जता छताछुल्ल बनाईदिएको छ । तर प्रधानमन्त्रीको ध्यान भने सत्तास्वार्थ भन्दा माथि देखिदैन । आखिर जनताको रगत पसिना चुसेर मोटाएका शीर्ष राजनीतिज्ञहरु च्वास्स टाउको दुखेपनि विदेशी अस्पताल पु¥याउने तीनै माफिया तयार जो छन् ।