राजनीति

अत्यावश्यक सामान अभाव हुन दिँदैनौ : सिडिओ पराजुली


काठमाडौँ – जिल्ला प्रशासन कार्यालय काठमाडौँले निषेधाज्ञाको समयमा पनि दैनिक उपभोग्य वस्तुको सहज आपूर्तिको व्यवस्था मिलाइएकाले घरमै बसेर निषेधाज्ञाको पूर्ण पालना गर्न सबैलाई अपिल गरेको छ ।

जिल्ला प्रशासन कार्यालयले जेठ १४ गते शुक्रबार देखि काठमाडौँ उपत्यकाका तीन जिल्लामा किराना पसल, खाद्यान्न पसल र डिपार्टमेण्टल स्टोर पनि बन्द गर्ने गरि निषेधाज्ञाको मोडालिटी परिर्वतन गरेपछि दैनिक उपभोग्य सामान खरिदमा समस्या हुने भन्दै निर्णयको विरोध भइरहेका बेला प्रशासनले त्यस्ता वस्तुको आपूर्ति सहज पारिने जनाएको हो ।

बिहिबार बिहान जिल्ला प्रशासन कार्यालयले नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड, उपभोक्ता संरक्षण मञ्च र खाद्य, किराना थोक व्यापार संघका प्रतिनिधिहरूसँग छलफल गरि आगामी एक साता दैनिक उपभोग्य सामान अभाव हुन नदिने गरि व्यवस्था मिलाउन निर्देशन दिएको हो ।
प्रशासनले अत्यावश्यक दैनिक उपभोग्य सामान खरिदमा समस्या नहुने गरि व्यवस्था मिलाउने जिम्मेवारी नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडलाई दिएको छ । निषेधाज्ञाको समयमा दैनिक उपभोग्य सामाग्रीको सहज आपूर्तिको व्यवस्था मिलाउनका मोडालिटी पनि तयार भएको भन्दै प्रशासनले निषेधाज्ञालाई पालना गर्न अपिल गरेको छ । काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लामा जेठ १४ देखि २० गतेसम्मको निषेधाज्ञामा किराना पसल पनि बन्द हुनेछन् ।