कोरोना विशेष

नागढुंगा सुरूङमार्गका ३२ कामदारमा कोरोना संक्रमण पुष्टि


काठमाडौँ – नागढुंगास्थित सुरुङमार्ग निर्माणस्थलभित्र रहेका ३२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । निर्माणस्थलभित्र रहेर काम गर्दै आएका एक जापानीसहित नेपालीमा सङ्क्रमण पुष्टि भएको हो ।

सङ्क्रमित भएकालाई अरूबाट छुट्टै (आइसोलेशन क्याम्प) मा राखेर अरू नियमित काम गरिरहेको नागढुंगा सुरुङमार्ग आयोजनाले जनाएको छ । सङ्क्रमितमध्ये अहिलेसम्म एकलाई अस्पताल लगिएको भए पनि अरू सबै निर्माणस्थलमा रहेको छुट्टै क्याम्पमा रहेको आयोजना प्रमुख नरेशमान शाक्यले बताउनुभयो । उहाँले भन्नुभयो, “अस्पताल जानुभएका व्यक्ति पनि ठीक भइसक्नुभएको छ ।”

देशभर सङ्क्रमण फैलिरहेकाले आवश्यक स्वास्थ्य सुरक्षा अपनाएर निर्माण अघि बढाउँदै आइएको आयोजनाले जनाएको छ । आयोजनाले क्याम्पभित्र कुनै व्यक्तिमा सङ्क्रमण देखिइहालेमा तुरुन्त अरूबाट छुट्टाएर राखिने व्यवस्था मिलाएको छ । उहाँले भन्नुभयो, “सङ्क्रमित भएका व्यक्तिको स्वास्थ्यमा समस्या आइहालेमा अस्पताल लगिनेछ ।”

क्याम्पभित्र सङ्क्रमित देखिएसँगै यहाँ कार्यरत कामदार निर्माणस्थल छाड्न थालेको आयोजनाले जनाएको छ । अघिल्लो सातासम्म ६०० भन्दा बढी कार्यरत रहेकामा अहिले यहाँ ३०० छन् । झण्डै आधा कामदार निर्माणस्थल छाडिसकेको प्रमुख शाक्यले बताउनुभयो । निर्माणस्थलमा सङ्क्रमण नियन्त्रण गर्न सकियो भने यही रूपमा काम अघि बढाइने आयोजनाले जनाएको छ । अझै फैलिएर गयो भने निर्माणस्थल बन्द गरिने प्रमुख शाक्यले बताउनुभयो ।

अहिले आयोजनाले कुनै पनि व्यक्तिलाई सङ्क्रमणको शङ्का लाग्नासाथ कोभिड जाँच गराउने गरेको छ । सुरुङमार्गमा काम भने भइरहेको छ । मुख्य सुरुङमा अहिले पनि दुई चरणमा गरी चौबीसै घण्टा काम भइरहेको प्रमुख शाक्यले बताउनुभयो । सहायक सुरुङमा दिनमा काम भए पनि रातको समयमा काम रोकिएको छ ।

जापान सरकारको ‘सफ्ट लोन’ मा ४२ महिनामा सो सुरुङको निर्माण सम्पन्न गर्ने गरी नेपाल सरकार र जापानी निर्माण संस्था हाजमा आङ्दो कर्पोरेशनबीच सम्झौता भएको थियो । सुरुङमार्ग सञ्चालनमा आएसँगै नागढुंगा–नौबिसे सडकखण्डमा दैनिकरूपमा हुने जाम हट्ने अपेक्षा गरिएको छ ।