अर्थनीति

यस वर्ष सलह नेपाल भित्रने सम्भावना कति छ ?, विशेषज्ञ के भन्छन् ?


काठमाडौँ — पछिल्लो एक सातादेखि नेपालको छिमेकी मुलुक भारतमा सलहको झुन्ड देखिएको छ । त्यहाँका प्रतिष्ठित पत्रिका, अनलाईनले यसको बारेमा निरन्तर खबर सम्प्रेषण गरिरहेका छ । त्यसैका बाबजूद कृषि विभाग सक्रिय भएर किसानलाई सतर्क रहन र सलहले कृषिबालीमा पुर्याउन सक्ने क्षतिलाई कम गर्न जिल्ला जिल्लामा सावधानी अपनाउन आग्रह गरिएको छ ।

सलहको झुन्ड फेरी पनि आउन सक्न भन्दै यसअघि नै संयुक्त राष्ट्र खाद्य तथा कृषि संगठन (एफएओ) ले गत १७ मेमा सूचना जारी गरेको थियो । एफएओले दक्षिण–पश्चिम इरानमा सलहका केही झण्ड रहेको र झुन्ड पूर्वी पाकिस्तान आउने सम्भावना रहेको उल्लेख गरेको थियो । सोही झुन्ड पाकिस्तान हुँदै उत्तर प्रदेश प्रवेश गरेको भारतको पत्रिका हिन्दुस्तानमा उल्लख गरिएको छ ।
गत वर्ष पनि अफ्रिकी मुलुकबाट अरेबियन देश हुँदै सलह भारत आइपुगेको थियो । उक्त सलह नेपाल पनि छिरेको थियो । भारतको बिहार हुँदै रूपन्देही, बारा, पर्सा र सर्लाहीमा छिरेको सलहले नेपालका केही जिल्लामा आतंक मच्चाएको थियो । अहिले उत्तर प्रदेशमा देखिएको सलहको झुन्ड नेपाल भित्रिने सम्भावना कति छ त ? कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता श्रीराम घिमिरे भन्छन्, ‘सलह उडेर आउने हुँदा नेपाल छिर्ने सम्भावना हुन्छ । क्षति सकेसम्म कम गराउन उच्च सतर्कता अपनाउने हो ।’

मन्त्रालयका अनुसार केही जिल्लामा मकैमा अमेरिकी फौजी कीरा देखिइसकेको छ । कीराले कुनै क्षेत्रलाई जीवनचक्र बनाएको प्रवक्ता घिमिरे बताउँछन् । ‘कीराले वर्षैपिच्छे आक्रान्त बनाएको छ । अमेरिकी फौजी कीरा मकैमा देखिइसकेको छ,’ उनले भने, ‘भारतमा सलह देखिएपछि बाली संरक्षणसँग काम गर्ने प्लान्ट क्वारेन्टाइन तथा विषादी केन्द्रले सतर्कतासाथ काम गरिरहेको छ । जिल्लामा रहेका प्राविधिकलाई सल्लाहसुझाव दिइएको छ ।’

प्लान्ट क्‍वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका प्रवक्ता रामकृष्ण सुवेदी भने भारतमा देखिएको सलह नेपाल भित्रिने सम्भावना कम रहेको दाबी गर्छन् । गत वर्ष ५०र६० झुन्डमा सलह थियो । एउटै झुन्डमा करोडौंको संख्यामा सलह देखिएको थियो । विगतमा इरान र पाकिस्तानबाट पनि आएर भारतमा थुप्रिएको थियो । त्यही भएर झुन्ड ठूलो भएको थियो । त्यहाँ बस्न नसक्ने भएपछि सहलको झुन्ड फैलिँदै नेपाल आइपुगेको थियो । तर अहिले राजस्थानमा दुईचार झुन्ड मात्रै देखिएको प्रवक्ता सुवेदीको भनाइ छ । ‘सीमा क्षेत्रमा भएकाले पाकिस्तानबाट सलह रेगिस्तान आउन सक्छ । गत वर्ष जुन गतिमा सलह उत्पादन भएको थियो, यसपालि त्यति छैन,’ उनले भने, ‘भारतमा पनि भयावह भएको छैन । यहाँसम्म सायद नआउला ।’ सलह प्रायः गर्मी ठाउँमा हुन्छ । घाम लाग्दा यसले कृषि बालीमा बढी क्षति पुर्‍याउँछ । राजस्थानमा बढी मरुभूमि रहेकाले सलहले त्यहाँ ब्रिडिङ धेरै गर्छ । राजस्थानकै कारण भारतमा हरेक वर्ष सलह देखिने गरेको छ । तर पाकिस्तान, अफ्रिका र इरानको मरुभूमिमा सलह उत्पादन भएर झुन्ड भारततर्फ आए मात्रै नेपालमा आउने सम्भावना हुने केन्द्रले जनाएको छ ।

‘हामी विभिन्न निकायसँग निरन्तर सम्पर्कमा छौं । एकएक साताको मौसमको अवस्थाबारे जानकारी लिइरहेका छौं । मौसम हेरेर सजगता अपनाउने हो,’ प्रवक्ता सुवेदीले भने, ‘अहिलेको मौसमले सलह नेपालमा आएर दुःख दिन सक्ने अवस्था कम छ ।’ भारतीय सञ्चारमाध्यमले भने पाकिस्तान हुँदै सलह राजस्थान र उत्तर प्रदेशसम्म पुगेको जनाएका छन् । केन्द्रकै भनाइ मान्ने हो भने पाकिस्तानबाट भारत भित्रिने सलह नेपालमा पनि आउने सम्भावना पनि देखिन्छ । तर यसका लागि कुनै सावधानी अपनाइएको छैन ।

गत वर्ष पनि समयमै सावधानी अपनाउँदा असार १३ मा नेपाल छिरेको सलह तराई, पहाडदेखि हिमालसम्म करिब ५२ जिल्लामा पुगेको थियो । सलहले दाङ, प्यूठान, मकवानपुर, अर्घाखाँची र पाल्पामा बढी क्षति पुर्‍याएको थियो । ती क्षेत्रमा मकै, तरकारी, फलफूल र भटमास बाली गरी करिब ११ सय १८ हेक्टरमा क्षति पुर्‍याएको केन्द्रले जनाएको छ । विभिन्न क्षेत्रमा भएको बर्खाका कारण ठूलो क्षति भने भएन । सलह गर्मीरउज्यालोमा मात्रै सक्रिया हुने हुँदा खेतीबालीमा धेरै क्षति नभएको केन्द्रको तथ्यांक छ ।

सलह चिसो ठाउँमा बाँच्न सक्दैन । २२ डिग्रीभन्दा तलको तापक्रममा नबाँच्ने विज्ञहरू बताउँछन् । हावाको बहावसँगै हिमाली जिल्लामा पुगे पनि तापक्रम र वातावरणअनुकूल नहुँदा गत वर्ष धेरै मरेको केन्द्रका प्रवक्ता सुवेदीको भनाइ छ । ‘गत वर्ष मुस्ताङ र जुम्लामा क्विन्टलका क्विन्टल मरेको देखियो,’ उनले भने, ‘अलिकति झुन्ड चीन पनि पुग्यो ।’

सलह हावासँगै प्रतिदिन १ सय ५० किमि टाढासम्म उड्न सक्छ । सूर्यास्त हुँदा सलहले रुखबिरुवालगायतका स्थानमा आश्रय लिन्छन् । बिहान सूर्योदयपछि एकरदुई घण्टा घाम तापेर त्यसपछि सक्रिय भई आहारा खान्छन् । दिनमा एउटा किराले आफ्नो औसत शरीरको तौल बराबरको करिब २ ग्राम खान्छ । औसतमा एउटा सानो सलहको झुन्ड (एक टन बराबरको) ले एक दिनमा बढीमा १० हात्ती वा २ हजार ५ सय मानिसले खाने आहारा बराबरका वनस्पति नष्ट गर्ने केन्द्रले जनाएको छ ।