समाचार

आज २५६५ बुद्ध जयन्ती


काठमाडौँ – आज भगवान् बुद्धको २५६५ औं जन्मदिन । विश्वभरका सम्पूर्ण बुद्धका अनुयायीहरुले बुद्ध जयन्ती मनाउँदै छन् । आज भन्दा २५०० वर्ष अगाडी आजकै दिन अर्थात् वैशाख पूर्णिमाको दिन भगवान् बुद्ध जन्मिनु भएको थियो ।

भगवान् बुद्धका अनुयायीहरुका लागि यस दिन विशेष रहने गर्छ । किनभने बुद्धको जन्म, निर्वाण प्राप्त र महापरिनिर्वाण एकै दिन यसै वैशाख पूर्णिमामा भएको थियो । यसदिन बुद्धको जन्मस्थान लुम्बिनी लगायत सबै बौद्ध स्तुपाहरूमा विभिन्न कार्यक्रम गरी बुद्ध जयन्ती मनाइन्छ । तर यसवर्ष भने कोरोना भाइरस महामारीका कारण कुनैपनि विशेष कार्यक्रम विना नै मनाइँदैछ । लुम्बिनीमा दीप प्रज्वलनबाहेकका अन्य विशेष कार्यक्रमहरू नहुने भएको छ ।

यस वर्ष लुम्बिनीमा २५६५ वटा दीप प्रज्ज्वलन र परित्राण पाठ गरेर सामान्य रुपमा मनाइने लुम्बिनी विकास कोषले जनाएको छ ।

सधैं भव्य समारोहका बीच सम्पन्न हुने गरेको बुद्धजयन्ती गत वर्ष पनि बन्दाबन्दीको कारण पूजापाठमा सीमित भएको थियो । कोरोना महामारीका कारण स्वदेश र विदेशबाट राष्ट्रप्रमुख, भिक्षु भिक्षुणी, कूटनीतिज्ञ र बौद्ध धर्मावलम्बीहरु सहभागी हुन नसक्ने भएकाले पूजापाठ र दीप प्रज्ज्वलन गरेर सामान्य रुपमा बुद्धजयन्ती मनाइने लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले बताए ।

विगतका वर्षमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन सहित भव्य रूपमा बुद्धजयन्ती मनाउने गरिन्थ्यो । ‘यस वर्ष भव्य रूपमा मनाउने तयारी थियो, तर कोरोना संक्रमणको दोस्रो लहर देखिएपछि औपचारिक कार्यक्रम गरेर मनाउन नसक्ने भयौं’ कोषका प्रमुख प्रशासकीय अधिकृत ज्ञानिन राईले भने ।

बुद्धजयन्तीको दिन बिहान सबै गुम्बा, बिहारको प्रतिनिधित्व हुनेगरी मायादेवी मन्दिर परिसरमा उपस्थित हुने र उक्त कार्यक्रममा राष्ट्रपति र प्रधानमन्त्रीको सन्देश वाचन र परित्राण पाठ तथा साँझ कोरोना संक्रमणबाट मृत्यु भएकाहरुको सम्झनामा दीप प्रज्ज्वलन गर्ने कार्यक्रम रहेको राईले बताए ।