समाज

उपत्यकाका सीडीओहरूको बैठक बस्दै,निषेधाज्ञा थप कडाइ गर्ने तयारी


काठमाडौँ – मंगलबार काठमाडौँ , भक्तपुर र ललितपुर तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दैछ । कोभिड–१९ भाइरस संक्रमणको दर नघटेको भन्दै निषेधाज्ञा थप गर्ने विषयमा छलफल गर्न बैठक बस्ने तयारी गरिएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिनुभयो ।

अब थप गरिने निषेधाज्ञामा सरकारले जारी गरेको कोभिड १९ संकट व्यवस्थापन अध्यादेशमा गरिएका व्यवस्थालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने विषयमा समेत मंगलबारको बैठकबाट निर्णय हुन सक्ने बताइएको छ । नयाँ अध्यादेशमा उल्लेखित व्यवस्थालाई प्रभावकारी कार्यान्वयन गर्दा एक सातामा महामारीको चेनब्रेक हुन सक्ने आकलन प्रजिअहरुको छ ।

दोस्रो लहरको संक्रमण बढ्दै गएपछि उपत्यका प्रशासनले १६ वैशाख गतेदेखि निषेधाज्ञाको आदेश जारी गरेको थियो । त्यसपछि २२ वैशाखमा पुनः एक साता थपिएको निषेधाज्ञा ३० वैशाखमा पुनः दुई साताका लागि थपिएको थियो ।

स्वास्थ्य मन्त्री हृदयश त्रिपाठीले सोमबार पत्रकार सम्मेलन गरेर आगामी चार सातामा संक्रमण क्रमशः घट्दै जाने बताएका छन् । गृहसचिव महेश्वर न्यौपानेले पनि हालै तीन सुरक्षा निकायका प्रमुखलाई बोलाएर निषेधाज्ञाको कडा कार्यान्वयन गर्न निर्देशन दिएका छन् ।