समाज

उपत्यकामा फेरि निषेधाज्ञा थप्ने तयारी


काठमाडौँ – उपत्यकामा फेरि निषेधाज्ञा थप्ने तयारी गरिएको छ । कोभिड–१९ भाइरस संक्रमणको दर नघटेको भन्दै निषेधाज्ञा थप्ने तयारी गरिएको हो ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले निषेधाज्ञा थप्नेबारे छलफल भइरहेको जानकारी दिनुभयो । ‘भोलि दिउँसो भर्चुअल माध्यमबाट यसविषयमा ललितपुर र भक्तपुरका सीडीओ सा’बसहितको बैठक बस्दैछौं ।’

बैठकअघि गृह मन्त्रालयमा पनि निषेधाज्ञा कति समय थप्नेबारे छलफल हुनेछ । यद्यपि, हालसम्म एक साता निषेधाज्ञा थप्ने विषयमा गृहमन्त्रलाय र तीन प्रमुख जिल्ला अधिकारीहरुको मत छ ।

दोस्रो लहरको संक्रमण बढ्दै गएपछि उपत्यका प्रशासनले १६ वैशाख गतेदेखि निषेधाज्ञाको आदेश जारी गरेको थियो । त्यसपछि २२ वैशाखमा पुनः एक साता थपिएको निषेधाज्ञा ३० वैशाखमा पुनः दुई साताका लागि थपिएको थियो ।

स्वास्थ्य मन्त्री हृदयश त्रिपाठीले सोमबार पत्रकार सम्मेलन गरेर आगामी चार सातामा संक्रमण क्रमशः घट्दै जाने बताएका छन् । गृहसचिव महेश्वर न्यौपानेले पनि हालै तीन सुरक्षा निकायका प्रमुखलाई बोलाएर निषेधाज्ञाको कडा कार्यान्वयन गर्न निर्देशन दिएका छन् ।