राजनीति

अब को बन्छ प्रधानमन्त्री, ओली–देउवामा को बलियो ? जे गरेपनि जित्नैपर्ने ओलीको खेल, राष्ट्रपतिको कोर्टमा बल(भिडियोसहित)


काठमाडौँ – संविधानको धारा ७६ (५) अनुसार गठन गर्न राष्ट्रपति कार्यालयमा दुईवटा दाबी पेश भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले १५३ संख्यासहित दाबी गरेका छन् भने विपक्षी गठबन्धनका तर्फबाट शेरबहादुर देउवाले १४९ सांसदको हस्ताक्षरसहित दाबी पेश गरेका हुन् । यससंगै राष्ट्रपति कार्यालय पनि अलमलमा परेको छ ।

विहिबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा विश्वासको मत माग्न नजाने र संविधानको धारा ७६ (५) अनुसार प्रतिनिधिसभाका कुनै सदस्यलाई सरकार गठनको विकल्प दिन राष्ट्रपतिलाई सिफारिस गरे । जसअनुसार वैकल्पिक सरकार निर्माणका लागि मात्र २१ घण्टाको समय पाएका विपक्षीदलहरु रातभर र शुक्रबार दिनभर सक्रिय रहे । विपक्षी दलको मात्रै बहुमत नपुग्ने स्पष्टै थियो ।

कांग्रेसका ६१, माओवादी केन्द्रका ४९, जसपाको उपेन्द्र यादव र बाबुराम भट्टराईका पक्षका १२, जनमोर्चाका १ सांसदले मात्रै बहुमत नपुग्ने भएपछि संकटमा परेका विपक्षीलाई एमालेकै माधव नेपाल पक्षका २६ सांसदले समर्थन दिएपछि ओलीको विकल्प दिन दलहरु सक्षम भए । कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा विपक्षी गठबन्धनको बैठक बस्यो । लगत्तै सिहंदरबारमा बसेको अर्काे बैठकले बहुमत संख्या १३६ का लागि १४९ सांसदको हस्ताक्षरसहित दाबी पेश गर्ने आधार बन्यो । त्यसै अनुसार देउवालाई प्रधानमन्त्री बनाएर देउवासहित प्रचण्ड, माधवकुमार नेपाल र उपेन्द्र यादवलगायतका नेताहरुले राष्ट्रपति कार्यालयमा वैकल्पिक सरकारको दाबी पेश गरे ।

विपक्षीहरुलाई सरकार गठनको मार्गप्रशस्त गरेको बताउने तर पदबाट पनि राजीनामा नदिएका ओलीले आफ्नो पनि दाबी लिएर शीतलनिवास पुगे । एमालेका १२१ सहित जसपाको सिङगो ३२ संख्या देखाएर ओलीले आफुसहित जसपाका अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतोको हस्ताक्षरसहित दाबी पेश गरेका हुन् ।

दुबै पक्षले आ–आफ्नै संख्यासहित दाबी पेश गरेपछि राष्ट्रपतिले कानुन हेरेर निर्णय लिने समय लिईन । संविधानसम्मत निर्णय गर्न अब राष्ट्रपतिको कोर्टमा बल पुगेको बेला दलहरुले संसदको अंकगणित नै गोलमाल बनाइििदएका छन् । प्रतिनिधिसभाको कुल २७५ मध्ये चार निलम्बित भएपछि हाल २७१ सांसद छन् । तर देउवाले पेश गरेका १४९ र ओलीले दाबी गरेका १५३ गरी ३०२ सांसद पुगेपछि अवस्था नै गिजोलिन पुगेको छ ।

संविधानको धारा ७६ (५) ले प्रतिनिधिसभाको कुनै पनि सदस्यले बहुमत पु¥याउने आधार पेश गरे राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गर्ने व्यवस्था गरेको छ । जुन व्यवस्था अनुसार दाबी गर्ने सांसदले व्यक्तिगत रुपमा समर्थन जुटाउनपर्छ । तर अहिले प्रधानमन्त्री ओलीले अहिले दलगत रुपमा दाबी पेश गरेकाले सांसदको हस्ताक्षरसहित दाबी गरेका देउवानै बलियो देखिन्छन् । तर राष्ट्रपतिले कसरी कदम चाल्छन् यसैले अबको सरकारको भविष्य निर्धारण गर्नेछ ।