राजनीति

म कानून हेर्छु : राष्ट्रपति


काठमाडौँ — १४९ सांसदको हस्ताक्षरसहित कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री दावी गरिएको पत्र लिएर पुगेका विपक्षी गठबन्धनका नेताहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले आफूले कानुन पनि हेर्ने बताउनु भएको छ ।

माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार उहाँले प्रधानमन्त्री केपी शर्मा ओली पनि बहुमत दावी गर्न आएको भन्दै आफूले कानुन हेर्ने बताउनु भएको हो । ‘हामीले हस्ताक्षरसहितको दावी प्रस्तुत गर्‍यौं । उहाँले धेरै बोल्नुभएन । म कानुन पनि हेर्छु, प्रधानमन्त्री पनि दाबी गर्न आउनुभएको छ भन्नुभयो,’ श्रेष्ठले भने ।
प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले र जसपाका गरी १५३ सांसदको समर्थन आफूलाई रहेको दावी राष्ट्रपतिसमक्ष पेश गरेका छन् । तर, विपक्षी गठबन्धनले भने ओलीले सांसदहरुको हस्ताक्षर पेश नगरेकाले उनको दावीको अर्थ नहुने बताएका छन् । विपक्षी गठबन्धनले हस्ताक्षर सहितको पत्र राष्ट्रपति कार्यालयमा दर्ता गरेको छ ।