कोरोना विशेष

निषेधाज्ञाको अवज्ञा गर्दै कालीमाटी सञ्चालनमा, १२ जनामा कोरोना भेटिदा पनि छैन त्रास


काठमाडौँ – नेपालमा कोरोना संक्रमितको तथ्यांक हेर्ने हो भने कहालि लाग्दो छ । कोरोनाकै कारण पहिले एकधको मृत्यु भएको समाचार आउनेमा अहिलले दैनिक दुई सय भन्दा माथि पुगिसकेको छ । अस्पतामा बेडको अभाव कै कारण बिरामीको मृत्यु भइरहेको छ । अस्पतामा बेड पाइहाल्यो भने पनि अक्सिजनको जोहो आफैले गर्नु पर्ने अवस्था सिर्जना भएको छ । यसैका नियन्त्रणको लागि भन्दै सरकारले पनि वैशाख १६ गतेदेखि नै निषेधाज्ञा घोषणा गरिएको छ । जुन आजसम्म पनि लागू नै छ । सरकारले अत्यावश्यक सेवा बाहेक सबै क्रियाक्रलापहरु बन्द गरेको छ ।
सरकारको तथ्यांक र दैनिक समाचारमा देखाइएको दृश्य हेर्दा बाहिर सुनशान छ वा हुनु पर्ने जस्तो लाग्छ । तर, राजधानीस्थित टेकुमा कालीमाटी तरकारी तथा फलफूल बजारको दृश्य भने तथ्यांकले बताए अनुसारको बिल्कुलै फरक छ । त्यहाँ दिनहुँ तरकारी खरिद बिक्रीकर्ताको भिड लाग्ने गरेको छ । बिहानै नाकसमेत नछोपिनेगरी आएका व्यवसायी एवं अन्यले कालीमाटीमा दैनिक मेला लागेको भान गराउँछ ।

दुई दिनअघि कालीमाटी तरकारी बजारमा काठमाडौं महानगरपालिकाले गरेको झण्डै ४०० पीसीआर परीक्षणका क्रममा १२ जना संक्रमित भेटिएका थिए । जसमा १० जना पुरुष र २ जना महिला छन् । कालीमाटी प्रहरी वृत्तका डीएसपी अपिल बोहोरा कालीमाटीमा तरकारी किन्न आउनेहरुलाई जति आग्रह गर्दा पनि त्यहाँको भिड नियन्त्रण गर्न नसकिएको बताउँछन् । बोहोरा एक किलो आलु किन्न पनि कालीमाटी आउनेहरु समेत प्रशस्तै भेटिएको बताउँछन् । अस्ति प्रहरीले लाठी चार्ज नै गर्नुपर्‍यो। एकैछिन तितरबितर भएजस्तो हुन्छ, त्यसपछि फेरि जात्रामा जस्तै भेला हुन्छन् । प्रहरीले अहिले पनि त्यहाँ दैनिक रुपमा माइकिङ गर्दै आएको छ ।