देश

भूकम्प,कोरोना र वर्षासँग जुधिरहेका लम्जुङ्गवासी, ८६ पटकसम्म धक्का महसुस

आफ्नो ज्यान बचाउन घरबाहिर ननिस्कि सुख नै छैन ।


काडमाडौँ – हिजो बुधबार बिहान लमजुङमा गएको भूकम्पमा अहिलेसम्म ६ जना घाइते भइसकेका छन् । त्यस्तै दुई सय जति घरमा भूकम्पले क्षति पुर्याएको छ । भूकम्पको धक्का आजसम्म पनि आइरहेको हुँदा यो संख्या बढ्नेमा त्यहाँका स्थानीय त्रसित देखिन्छन् ।

एक त भूकम्पको धक्का त्यसमा पनि अहिलेको यो वैश्विक कोरोनाको महामारी । भूकम्पले घरभित्र बस्न दिएको छैन् । कोरोनाले बाहिर निस्कन । यसअघि नै त्यहाँ कोरोना सङ्क्रमणको जोखिम उच्च भएको भन्दै सरकारले निषेधाज्ञासमेत जारी गरेको छ। सङ्क्रमणको जोखिम र निषेधाज्ञाका क्रममा घरबाहिर ननिस्कन र भीडभाड नगर्न बताइएको छ। तर, अहिले त्यहाँ यसको विकल्प केही पनि छैन । आफ्नो ज्यान बचाउन घरबाहिर ननिस्कि सुख नै छैन । झन् भारतमा आएको चक्रवातका कारण नेपालमा हिजो देखि नै पानी परिरहेको छ । लम्जुङ्ग वासी यो सबैको मारमा एकै चोटी परिरहेका छन् ।

भूकम्प मापन केन्द्रले समेत भूकम्पको धक्का अब रोकिन सक्छ वा अझै ठूलो आउन सक्छ यकिन भन्न सक्ने अवस्था नभएको जानकारी दिएको छ।


हिजो बिहान ५ः४२ देखि जान थालेका थालेको भूकम्पको धक्का आजसम्म पनि रोकिने नाम नै लिँदैन । आजसम्म पनि यो निरन्तर जस्तै गरेर गइ नै रहेको छ । हिजो देखि आजसम्ममा त्यहाँ ठूला र साना गरेर ८६ पटकसम्म भूकम्पको धक्का महसुस गरेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । बिहानदेखि साँझसम्म नै भूकम्पको त्रासले आजित बनाएको जिल्लाबासीलाई रातिको समयमा समेत पटकपटक भूकम्पको धक्का जाँदा राम्रोसँग सुत्न त के, घरभित्र बस्न पनि समस्या भयो। कतिपय स्थानीयवासी रातभरि घरबाहिर नै सुते भने कति नसुति भित्र बाहिर गरिरहे। जिल्लामा भूकम्प जाँदा सहजरूपमा बाहिर बस्न सक्ने स्थिति समेत थिएन। रातिको समयमा वर्षा भइरहेकाले थप समस्या भएको छ।


मस्र्याङ्दी गाउँपालिकास्थित भुलभुले केन्द्रविन्दु बनाएर बुधबार बिहान ५ बजेर ४२ मिनेटमा ५.८ रिक्टर स्केलको भूकम्प गएयता आज बिहान ५ बजेर ५१ मिनेटसम्मको अवधिमा यतिका सङ्ख्यामा भूकम्पको धक्का महसुस भएको हो। मापनकेन्द्रका अनुसार यस अवधिमा चार रेक्टरभन्दा माथिका ६ वटा र सो भन्दा कम रेक्टरका ८२ वटा भूकम्पका धक्का गएको छ। चारभन्दा माथि बुधबार बिहान ५ः४२ मा पाँच दशमलव आठ , ८ः१६ मा चार , ८ः१७ मा चार दशमलव एक, ८ः२६ मा पाँच दशमलव तीन , बुधबार राति ९ः २३ मा चार र १०ः३९ मा चार दशमलव पाँच रिक्टर स्केललको भूकम्प गएको केन्द्रले जनाएको छ। केन्द्रका अनुसार आज बिहान ५ः५१ मा तीन दशमलव दुई रिक्टर स्केलको भूकम्प गएको छ।

यता भूकम्प मापन केन्द्रले समेत भूकम्पको धक्का अब रोकिन सक्छ वा अझै ठूलो आउन सक्छ यकिन भन्न सक्ने अवस्था नभएको जानकारी दिएको छ। प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुइँटेलले सबैजना सुरक्षित, सतर्क र सजग भएर बस्नुपर्ने बताए। उनले यो विपद्को घडीमा सबैलाई एकजुट भएर अघि बढ्न र नआत्तिनलाई आग्रह गरे।