देश

राष्ट्रियसभा उपनिर्वाचनको तयारी पूरा, पीसीआर परीक्षण नगरे पनि मत दिन पाउने


काठमाडौँ – बिहीबार हुने राष्ट्रियसभा उपनिर्वाचनको तयारी पूरा भएको छ । उपनिर्वाचनमा कोरोना परीक्षणको पीसीआर रिपोर्ट अनिवार्य नहुने भएको छ । बुधबार मतदानस्थल हेटौंडा–४ मा रहेको भुटनदेवी माध्यमिक विद्यालयमा तीनै जना उम्मेदवारका प्रतिनिधिहरुले सबै मतदाताले पीसीआर परीक्षण गर्न नपाएको र कतिपय स्थानीय तह विकट रहेकाले पीसीआर गर्न सम्भव नरहेको भन्दै परीक्षण नगरेका मतदातालाई पनि निर्वाचनमा सहभागी गराउन माग गरेका थिए ।

उम्मेदवारका प्रतिनिधिहरुको साझा माग अनुसार मतदानका लागि मतदाताको पीसीआर रिपोर्ट अनिवार्य नगरेको राष्ट्रियसभा उपनिर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिनुभयो । निर्वाचन अधिकृत श्रेष्ठले निर्वाचन आयोगका आयुक्त सँगको मौखिक छलफल अनुसार पीसीआर रिपोर्ट अनिवार्य नभएको बताउनुभयो । श्रेष्ठका अनुसार बिहीबार बिहान ९ बजेदेखि अपरान्ह ३ बजेसम्म हुने निर्वाचनका लागि तीनवटा बुथ राखिने भएको छ ।

‘क’ बुथमा प्रदेशसभा सदस्यहरुले मतदान गर्नेछन् भने ‘ख’ मा स्थानीय तहका प्रमुख, उपप्रमुखले मतदान गर्नेछन् । यस्तै कोरोना भाइरस संक्रमण भएका प्रदेशसभा सदस्य तथा स्थानीय तहका प्रमुख, उपप्रमुखका लागि ‘ग’ बुथ राखिनेछ । निर्वाचनका क्रममा मतदान कक्षमा मोबाइल, क्यामेराजस्ता विद्युतीय सामग्री प्रयोग गर्न रोक लगाइएको छ ।