देश

कक्षा ८ को नतिजा आन्तरिक मूल्यांकनबाट पठाउन काठमाडौँ महानगरको निर्देशन


काठमाडौँ – काठमाडौँ महानगरपालिकाले कक्षा ८ को नतिजा आन्तरिक मूल्यांकनबाट पठाउन आफ्नो क्षेत्रभित्र रहेका विद्यालयलाई निर्देशन दिएको छ । महानगरले बुधबार विज्ञप्ति निकाल्दै कोरोना महामारीका कारण भौतिक रुपमा परीक्षा लिनसक्ने अवस्था नरहेकाले आन्तरिक मुल्यांकन विधिबाट परीक्षा गर्न निर्देशन दिएको हो ।

महानगर शिक्षा शाखा प्रमुख रामप्रसाद सुवेदीका अनुसार कोरोना महामारीले भौतिक उपस्थितिमा परीक्षा गराउन सम्भव नरहेकाले पहिलो तथा दोस्रो त्रैमासिक परीक्षाबाट ४० प्रतिशत, निरन्तर विद्यार्थी मूल्यांकन गरी विद्यालयमा राखिएको विद्यार्थीको अभिलेखबाट ४० प्रतिशत र विद्यालय तथा विद्यार्थीको अनुकूल उपयुक्त वैकल्पिक मूल्यांकन विधिमा २० प्रतिशत गरी परीक्षाको मुल्यांकन गर्न निर्देशन दिइएको हो ।

जारी सूचनामा जेठ २५ गतेभित्र महानगरपालिको शिक्षा शाखामा विद्यार्थीको विषयगत मूल्यांकन विवरण पठाउन भनिएको छ ।