राजनीति

प्रधानमन्त्री ओलीबाट आचारसंहिता उल्लंघन, मौन अवधिमा बादललाई मागे मत


काठमाडौँ – प्रधानमन्त्री केपी ओलीले निर्वाचन आचारसंहिता उल्लंघन हुनेगरी राष्ट्रिय सभा निर्वाचनको मौन अवधिमा गृहमन्त्री रामहादुर थापा बादलका लागि मत माग्नुभएको छ । वाग्मती प्रदेशअन्तर्गत राष्ट्रिय सभाको रिक्त एक पदका लागि बिहीबार जेठ ६ गते हुन लागेको निर्वाचनमा पदीय दुरुपयोग हुने गरी प्रधानमन्त्री ओलीले एमालेका उम्मेदवार रामबहादुर थापालाई मत माग्नुभएको हो ।

उपनिर्वाचनको मौन अवधि सोमबार राति १२ बजेबाट लागू भइसकेको समयमा बुधबार दिउँसो विज्ञप्ति निकालेरै उहाँले गृहमन्त्रीसमेत रहनुभएका थापालाई मत हाल्न पार्टी पंक्तिलाई आदेश दिनुभएको हो । त्यतिमात्र होइन थापालाई मत नदिए कार्वाही गर्ने धम्कीसमेत प्रधानमन्त्री ओलीले मतदातालाई दिनुभएको छ ।

निर्वाचन आयोगले मंगलबार विज्ञप्ति जारी गर्दै राति १२ बजेबाट मौन अवधि सुरु भएको भन्दै कुनै पनि माध्यमबाट उम्मेदवारको पक्षमा मत नमाग्ने निर्देशन दिएको थियो । मौन अवधिमा सामाजिक सञ्जालमार्फत मत माग्न र समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्न नपाइने निर्वाचन आयोगको आचारसंहितामा उल्लेख छ ।

बिहीबार हुने उपनिर्वाचनमा विपक्षी गठबन्धनले भने एमाले पृष्ठभूमिकै संघीयता विज्ञ डा. खिमलाल देवकोटालाई उम्मेद्वार बनाएको छ । देवकोटालाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र एमालेको खनाल–नेपाल समूहले उम्मेदवार बनाएको हो ।