राजनीति

एमाले कार्यदल बैठक बस्दै, आज मुख्य एजेण्डामा छलफल हुने


काठमाडौँ –एमालेको आन्तरिक विवाद समाधानको प्रयासस्वरुप गठित कार्यदलको बुधबार (आज) दोस्रो बैठक बस्दैछ । बैठक साँझ ७ बजेका लागि सिंहदरबारमा बस्ने तय भएको छ ।
यसअघि मंगलबार (हिजो) पनि बैठक बसेको थियो । बैठकले कार्यक्षेत्र, कार्यविधि र आचारसंहिता तयार गरी लागू गर्ने, पार्टीमा देखिएका समस्याहरूलाई यथोचित रुपमा समाधान गर्दै एकताबद्ध ढङ्गबाट अघि बढाउनेलगायतका विषयमा छलफल गरेको थियो । आजको बैठकबाट उल्लिखित विषयबारे निष्कर्षमा पुगेर मुख्य एजेण्डामा प्रवेश गर्ने सत्तापक्षीय एमालेका तर्फबाट गठित कार्यदलका संयोजक सुवासचन्द्र नेम्वाङ्गलेको भनाइ छ । ‘हिजो शुरुको दिन केही विशेष रुपमा छलफल भयो,’ नेम्वाङ्गले भने— ‘आजबाट मेन् एजेण्डामा प्रवेश गर्छौँ ।’

सर्वाेच्चको आदेशपछि नेकपा पूर्ववत् अवस्थामा फर्केसँगै विकसित भएको एमाले विवाद अझैसम्म उस्तै देखिएको छ । बिचमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र विपक्षी एमालेको नेतृत्व गरिरहेका वरिष्ठ नेता माधवकुमार नेपालबीच पटक—पटक भेटवार्ता भएपनि समस्या सुल्झिएन । समस्ष समाधानका लागि ओली—नेपालकै सहमतिमा १० सदस्यीय कार्यदले बनेको थियो ।