देश

बादललाई सघाउने सहमति भएको छैन,मतदाताले स्वविवेक प्रयोग गरुन् : माधव नेपाल सचिवालय


काठमाडौँ – पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको सचिवालयले राष्ट्रिय सभाको उपनिर्वाचनमा बादललाई सघाउने कुनै सहमति नभएको बताएको छ । नेपालका स्वीकीय सचिव मोहन गौतमले मंगलबार साँझ वक्तव्य जारी गर्दै सघाउने वचन नदिएको बताएका हुन् । तर, मतदातालाई स्वविवेक प्रयोग गर्न दिने कुरामा सहमति भएको स्वीकारेका छन् ।

मंगलबार गृहमन्त्री थापा नेता नेपालनिवास कोटेश्वर पुगेर निर्वाचनमा सहयोग गर्न भनेको तर, उनलाई सहयोग गर्नेबारे कुनै सहमति नभएको नेपालको सचिवालयले जनाएको छ । राष्ट्रिय सभाको बागमती प्रदेशबाट निर्वाचित हुने एक सदस्यका लागि बिहिबार हुने निर्वाचनमा माधवकुमार नेपालको समेत पूर्ण सहयोग पाउने भएको बादलका प्रेस संयोजक किरण भट्टराईले सार्वजनिक गरेका थिए ।

नेता नेपालले भने उम्मेदवारी दर्ताको परिस्थितिमा अन्य दलहरू सहितलाई सहमत गराएर डा. खिमलाल देवकोटालाई आफ्नै पहलमा उम्मेद्वार बनाएकोले अहिले सहयोग गर्न नसक्ने बताएका थिए । त्यसपछि नेता बादलले मतदातालाई स्वविवेक प्रयोग गर्न भनौं भन्ने प्रस्ताव गरेको र त्यसमा नेता नेपालले सहमति जनाएको बताइएको छ ।