कोरोना विशेष

स्वास्थ्य मन्त्रालयको आग्रह : जथाभावी आइसोलेसन सेन्टर नखोलौँ


काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य मापदण्ड पूरा नगरी जथाभावी आइसोलेसन सेन्टर नखोल्न सबैलाई आग्रह गरेको छ ।
कोभिड १९ संक्रमणका विरामीको संख्या बढेसँगै विभिन्न संघसंस्थाहरुले आइसोलेसन सेन्टर खोल्ने खोल्ने क्रम पनि बढ्दै गएको भन्दै मन्त्रालयले स्वास्थ्य मापदण्ड विनाका आईसोलेसन केन्द्र घातक हुने चेतावनी दिएको छ । ठूलो हल वा कोठामा बेड, ओढ्ने ओछ्याउने, अक्सिजनका सिलिण्डर लगायत सामाग्री राखेर आईसोलेसन सेन्टर खोल्ने होडबाजी जस्तो नै चल्न थालेपछि मन्त्रालयले जथाभावी आईसोलेसन सेन्टर नखोल्न सचेत गराएको हो ।

पत्रकारसँग मंगलबार कुरा गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डाक्टर समिर अधिकारीले आईसोलेसन सेन्टर खोल्दै गर्दा आवश्यक स्वास्थ्यकर्मीहरु, उपचारमा चाहिने उपकरणहरु, औषधिहरु र क्रिटिकल केयरका लागि लैजाने अस्पतालहरुको समन्वय , प्रत्यक्ष निगरानीका सुनिश्चितता गर्न सुझाव दिनुभयो। उहाँले सामान्य भौतिक पुर्वाधार को व्यवस्थामात्रै गरेर स्वास्थ्य मापदण्ड पालना गर्न नसक्ने गरी बनाईएका आइसोलेसन केन्द्रहरु स्वास्थ्यका हिसाबले अर्को घातक हुनसक्ने चेतावनी दिनुभयो ।

‘पछिल्लो समय आईसोलेसनको नाममा मानिसहरु जम्मा गरेर बस्न मिल्ने ठाउँहरु धेरै व्यवस्थापन गर्न खोजिएको देखिन्छ। तर हामी सबैले बुझ्नुपर्ने विषय चाहीँ मानिसहरु आईसोलेसनमा आफ्नो घरको छुट्टै कोठामा बस्नु भन्दा उपयुक्त अर्को ठाउँ कहीँ पनि हुदैन। स्वास्थ्य जटिलता, अलिकति गाह्रो भयो भने हामीले जुन मापदण्ड पालना गर्न नसक्ने गरी बनाईएका आइसोलेसन केन्द्रहरु चाहीँ स्वास्थ्यका हिसाबले अर्को घातक हुनसक्छ कि भन्‍ने डर छ।’

उहाँले भन्नुभयो, ‘हामी संक्रमणको आशंकामा पुग्यौ भने अलग्गिएर बस्ने, परीक्षण गराउने, संक्रमण पुष्टि भईसकेपछि पनि आफ्नो घर परिवारको अरु सदस्यलाई नभेटेर छुट्टै बस्ने गर्यौ र स्वास्थ्यमा कुनै समस्या भएन भने त्यो सबैभन्दा धेरै उपयुक्त हुन्छ । अर्को हामीले आईसोलेसन सेन्टरहरु स्थापना गर्दा स्वास्थ्यकर्मीहरु, त्यहाँ चाहिने उपकरणहरु, औषधीहरु र त्यहाँ गाहे हुने वित्तिकै क्रिटिकल केयरका लागि स्वास्थ्य जटिलताका लागि लैजाने अस्पतालहरुको समन्वय, प्रत्यक्ष निगरानी हुने गरी गरेनौ भने हामीलाई गाह्रो हुन्छ।’

उहाँले टोल–टोलमा आईसोलेसन सेन्टरका नाममा स्वास्थ्य सामाग्रीहरुको ठूलो खपत हुने र साच्ची आवश्यक पर्ने अस्पतालहरुमा उपचार सामाग्रीको अभाव हुन सक्ने स्थिति श्रृजना भएकाले आफूहरु चिन्तित बनेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘पछिल्लो समयमा टोल टोलमा आईसोलेसन सेन्टरका नाममा स्वास्थ्य सामाग्रीहरु ठूलो मात्रामा खपत हुने गरी खोलिराखेको अवस्थाले हामी अलिकति चिन्तित छौं। ती सामाग्रीहरुको व्यवस्थापन पनि अर्को चुनौतिपूर्ण पाटो हो । त्यहाँबाट निस्कने फोहर व्यवस्थापन अर्को चुनौतिपुर्ण पाटो हो । र जहाँ क्रिटिकल केयरका लागि साँच्चै अस्पतालहरुमा ती सामाग्रहरु चाहिन्छ । ती जनशक्तिहरु छन् भने ती जनशक्तिहरु उपलब्ध गराएर सहयोग गर्न सकिन्छ । जहाँ विरामीको क्रिटिकल केयर गर्नुपर्ने आवश्यकता हुन्छ ती ठाउँहरुमा अझै गाह्रो हुन्छ।’

डाक्टर अधिकारीले कोभिड १९ को उपचार नभईरहेको अवस्थामा संक्रमण रोक्ने किसिमका गतिविधिमा विशेष ध्यान दिन पनि आग्रह गर्नुभयो । उनले भन्नुभयो, ‘हामीले यसरी सेन्टरहरु खोल्दै जाने, अक्सिजनको माग बढ्दै जाने, यसोहुदै जाँदा हामीलाई साच्चै क्रिटिकल केसमा अस्पतालमा व्यवस्थापन गर्ने अक्सिजन लगायत अरु सामाग्रीहरुमा निकै निकै चुनौतिपूर्ण हुँदै जाने अवस्था देखिएको छ । कृपया त्यसो नगरिदिनुहुन र क्रिटिकल केयरको उपचार हुने सुनिश्चित गरेर अस्पतालहरुको समन्वय हुने अवस्थामा र आईसोलेन सेन्टरहरुमा स्वास्थ्यकर्मीहरुको सुनिश्चितता हुने गरी मात्रै गरिदिनु हुन हामी अनुरोध गर्छौ ।’

डाक्टर अधिकारीले संक्रमणलाई फैलन नदिनस्वास्थ्य सर्तकताका मापदण्ड कडाईका साथ अनुशासित भएर पालना गर्न सबैलाई अपील गर्नुभयो ।