राजनीति

दासढुंगामाथि राजनीति : न बिर्सिन्छन् न छानबिन गर्छन्, अझै पत्ता लागेन मृत्युको कारण


काठमाडौँ – आज जेठ ३ अर्थात् मदन भण्डारी–जीवराज आश्रित स्मृति दिवस । आज जननेता मदन भण्डारी र जीवराज आश्रितको निधन भएको २८ बर्ष पुगेको छ । मदन भण्डारीलाई नेपाली कम्युनिष्ट आन्दोलनको कमाण्डर मान्ने गरिन्छ । यद्यपी मदन भण्डारीको मृत्यु भएको दासढुंगा प्रकरण अझै पनि हत्या वा दुर्घटना भन्ने प्रश्नको छिनोफानो हुन सकेको छैन ।

मदन भण्डारी र जीवराज आश्रितलाई आफ्नो आदर्श नेता मान्ने नेकपा एमाले लगायतले हरेक बर्ष मृत्यु भएको दिन स्मरण गर्दछन् । एमालेका तत्कालीन महासचिव भण्डारी र संगठन विभाग प्रमुख आश्रितको २०५० जेठ ३ गते आजकै दिन दासढुंगामा भएको जीप दुर्घटनामा परी मृत्यु भएको थियो । तर त्यो हत्या वा मृत्यु आजको दिनसम्म पनि रहस्यकै गर्भमा छ । त्यस समयमा एमालेले दुर्घटनालाई हत्या भनेर अतिरञ्जीत गरि राजनीतिक फाइदा लिएको अहिलेपनि व्याख्या हुने गरेको छ ।

जेष्ठ ३ गतेलाई अवसर मानेर तीन वर्ष पहिले एमाले र माओवादी पार्टी एकताको घोषणा पनि भएको थियो । पार्टी एकीकरणको घोषणा अध्यक्षद्वयले तत्कालीन नेकपा एमालेको बल्खुस्थित पार्टी कार्यालयमा रहेको मदनको शालिकलाई साक्षी राखेर गरेका थिए । अफसोच अहिले नेकपा विभाजन भई पुरानै कित्तामा पुगिसकेको छ ।

०५० जेठ ३ गते दासढुंगा दुर्घटनामा भण्डारी र एमालेका तत्कालीन संगठन विभाग प्रमुख जीवराज आश्रितको निधन भएयता मदन–आश्रितको सम्झना÷सम्मानमा नागरिक र पार्टीकै तहमा धेरै काम भएका छन् । नेकपा एमालेले संस्थागत निर्णयबाटै मदन–आश्रित स्मृति प्रतिष्ठान सञ्चालन गरेको छ भने मदन भण्डारी फाउन्डेसनको शाखा देशभर पार्टीको समानान्तर कमिटीझंै गरी विस्तार भएका छन् । प्रतिष्ठानबाहेक मदन भण्डारी स्पोर्टस् एकेडेमी, मदन भण्डारी बौद्धिक मञ्च, मदन भण्डारी कला साहित्य प्रतिष्ठान, मदन भण्डारी संग्रहालय आदी नीजि तवरबाट सञ्चालनमा छन् ।

तिनमा आबद्ध हुने नेता कार्यकर्ता राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री ओलीनिकटकै देखिन्छन् । फाउन्डेसन र प्रतिष्ठानमा पनि ओली पक्षीय नेताहरुकै वर्चस्व छ । भण्डारीकै नाममा खुलेका प्रतिष्ठान, शिक्षालय, बाटोघाटो, प्रतीक्षालयका नाममा सरकारका तर्फबाट पनि बर्सेनि करोडौं रकम विनियोजन हुँदै आएको छ । यस शिर्षकमा छुट्याइएको बजेटको पारदर्र्शीताका सवालमा शिर्ष नेताहरुबीच बेला बेला आरापप्रत्यारोप चल्ने गरेको छ ।

यस्तो आरोप र जस–अपजसको भारी पनि कतिपयले गुट राजनीतिको परिणाम भएको बताउँछन् ।
यसरी आफू अनुकुल भण्डारीको नाम विभिन्न कालखण्डमा भजाइरहे । तर उनको दुर्घटना आकस्मीक थियो या योजनाबद्ध हत्या थियो ? यो अझै रहस्यकै गर्भमा छ ।

उतिबेलै घटना छानबिन गर्न चारवटा आयोग बनेका थिए । तातकालिन सरकारी रिपोर्टले दुर्घटना भन्यो भने एमालेले हत्या भन्यो । हत्या नै भए एमाले पार्टी पटक पटक सरकारमा जाँदा र उनकै श्रीमति विद्यादेवि भण्डारी मुलुकको सर्वाेच्च पदनमा हुँदा पनि किन छानवीन हुन सकेन ? यो नैतिक प्रश्न राष्ट्रपति भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीलाई तेर्सीरहेको छ ।