समाचार

आज अक्षयतृतीया देशभर मनाउँदै


काठमाडौँ – आज वशाखै शुक्ल पक्षको तृतीया तिथि अर्थात् अक्षय तृतीया । अक्षयको अर्थ अर्थात् कहिले पनि क्षय नहुने वा नाश नहुने भन्ने हो । आजको दिन गरेको जप, दान वा पुण्य कर्म धेरै होस् वा थोरै होस्, त्यो सबै अक्षय अर्थात् कहिले पनि नाश नहुने हुन्छ भन्ने धार्मिक विश्वास छ । यो दिन विवाह गर्न मुहूर्त्त हेरिरहनुपर्दैन भन्ने सामाजिक मान्यता छ ।
यो दिनमा जौ सातु र सर्वत खाने गरिन्छ । अन्नहरूमा जौलाई महत्त्वपूर्ण मानिन्छ। अन्नहरुमा सर्वश्रेष्ठ पदार्थ मात्र नभई भगवान् विष्णुको प्रियवस्तु समेत मानिन्छ– जौ । वैशाख महिना जौ तयार हुने समय हो । उष्णताले आक्रान्त पार्ने यो समयमा शरीरलाई फाइदा पुर्‍याउने एवं शीतलता प्रदान गर्ने जौको सातु एवं सख्खर, अदुवा, मरिच र अन्य मसला मिश्रित सर्वत दान दिएर आफूले पनि प्रयोग गर्नु स्वास्थ्य रक्षा वा धार्मिक हिसाबले पनि मनासिव देखिन्छ ।