राजनीति

जसपाका शीर्ष नेताको बैठक निष्कर्षविहीन


काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा) शीर्ष नेताको बैठक विनानिष्कर्ष टुंगिएको छ । वैकल्पिक सरकार गठनबारे छलफलका लागि बालकुमारीस्थित पार्टी कार्यालयमा बसेको बैठक विनानिष्कर्ष सकिएको हो । छलफलमा सहभागी संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराईका अनुसार वैकल्पिक सरकार गठनका विभिन्न विकल्पबारे छलफल भएको छ । सो क्रममा लोकतान्त्रिक पार्टीमा फरक–फरक धारणा आउनु स्वाभाविक भएको बताउँदै उनले भोलिसम्म एकीकृत धारणा तय गर्ने बताए ।
भट्टराईले भने, ‘संविधानको धारा ७६ को (२) अनुसारको वैकल्पिक सरकार निर्माणका लागि दाबी पेश गर्ने भोलि अन्तिम समय छ । त्यसकै निम्ति पार्टीका शीर्ष तहमा अनौपचारिक कुराकानी गरेका छौं । छलफल जारी राख्छौं र भोलिसम्म्म एकीकृत विचार बनाउने प्रयासमा हामी छौं ।’ प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत प्राप्त गर्न नसकेपछि संविधानको धारा ७६ को उपधारा (२ं) बमोजिम सरकार गठनका राष्टपति विद्यादेवी भण्डारीले राजनीतिक दलहरुलाई दिएको तीन दिनको समयसीमा बिहीबार सकिंदै छ ।