राजनीति

कोरोनाको कहरमा पनि नेपाली राजनीतिमा भारतीय चासो, ओलीको समर्थनबाट पछि हटौं


काठमाडौँ – नेपालको राजनीतिमा भारतको चासो हुनु कुनै नौलो कुरो बिल्कुलै होइन । तर, अहिले परिस्थिति नेपालमा होस् चाहे भारतमा राजनीतिक कुरो गर्न अनुकुल छैन । झन् दोस्रो लहरको सबैभन्दा बढी चपेटा वा प्रभावमा परेको देश भारत । प्रत्येक दिन चार लाख भन्दाबढी मानिस कोरोनाबाट संक्रमित भइरहेका छन् र दैनिक चार हजारभन्दा बढीले यसैका कारण ज्यान गुमाइ रहेका छन् । आफै लाचार भईरहेको अवस्था छ र सरकारले झण्डै झण्डै हात उठाइसकेको छ । त्यसैकारण विदेशी सहायता आउने क्रम जारी रहेको बेलामा पनि उसले नेपाली राजनीतिमा चासो देखाउन छोडेको छैन । भरतीय पत्रिकाका अनुसासर प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएको समर्थनबाट भारत पछि हट्नु पर्ने जनाएको छ । भारतको एक प्रख्यात पत्रिका द हिन्दुस्तान टाइम्समा नेपालको पछिल्लो राजनैतिक घटनाक्रमको बारेमा मे ११ तारेख मा छापिएको सम्पादकीय जस्ताको त्यस्तै नेपाली अनुवादमा

नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत गुमाएका छन् । सोमबार संसदमा भएको मतदानमा नेपाली कांग्रेस, नेकपा माओवी केन्द्र, मधेशवादी दल जनता समाजवादी पार्टीले विपक्षमा मतदान गरे ।

केही तटस्थ रहे भने केपी शर्मा ओलीकै पार्टी नेकपा एमालेको माधवकुमार नेपाल पक्षले बहिस्कार गरेको हुँदा प्रधानमन्त्री ओलीले विश्वासको मत प्राप्त गर्न सकेनन् र कामचलाउ बनेका छन् । यद्यपि यो घटनाक्रमपछि पनि नेपालको राजनीतिक उथलपुथल साम्य भइसकेको छैन । वास्तवमा योे अर्को चरणको राजनीतिक तरलताको सुरुवातको संकेत हो ।

वैकल्पिक सरकार गठनका लागि नेपाली कांग्रेस, माओवादी केन्द्र, एमालेको नेपाल पक्ष तथा जनता समाजवादी पार्टी एक ठाउँमा उभिनुपर्छ । तर जनता समाजवादी पार्टी यो विषयमा विभाजित छ । महन्थ ठाकुरले नेतृत्व गरेको एउटा पक्ष ओली तथा आगामी प्रधानमन्त्रीमा अगाडि सारिएका देउवाबीच समदूरी राख्न चाहन्छ । कुनैले पनि मधेशीको भलो नगर्ने तर्क उनको छ ।

महन्थ ठाकुरको तटस्थ रहने यो अडानलाई धेरैले भारतीय सुझाव भनेका छन् किनकी केपी शर्मा ओलीलाई पनि भारतले सहयोग रहेको छ । उपेन्द्र यादव र पूर्व प्रधानमन्त्री बाबुराम भट्टराइले नेतृत्व गरेको जसपाको अर्को समूह चाहिँ ओलीलाई जसरी पनि हटाउन चाहन्छ । र, ओलीकै कारण प्रजातन्त्र संकटमा परेको उनीहरुको तर्क छ । तर यदि नयाँ वैकल्पिक सरकार बनेन भने ठूलो दलको हैसियतमा एकल सरकार गठनका लागि राष्ट्रपतिले पुनः केपी ओलीलाई नै आमन्त्रण गर्नेछिन् ।

नेपाल कोभिड–१९ को विनाशकारी लप्काबाट आक्रान्त भइरहेको बेला त्यहाँ यी सबै राजनीतिक गतिविधि भइरहेका छन् । कोरोना संक्रमण उच्चदरमा बढिरहँदा त्यहाँका स्वास्थ्य संरचनाहरु ठूलो दबाबमा परेका छन् । बेलायती पत्रिका द गार्जियनमा एक आलेख प्रकाशित गर्दै प्रधानमन्त्री ओलीले अन्तराष्ट्रिय सहयोगको याचना गरेका छन् । भारतले नै भ्याक्सिनको आन्तरिक अभाव झेलिरहेको र खोपको निर्यातमा बन्देज लगाएका कारण नेपालको खोप अभियान योजना पनि सुस्त बनेको छ ।

तथापि नेपालमा यो आपतकालतर्फ ध्यान केन्द्रित गर्नका लागि तत्कालै वैधानिक तथा पूर्ण क्रियाशील सरकार निर्माण हुनु पहिलो आवश्यकता हो । भारतीय समर्थन, जनता समाजवादी पार्टीको विभाजन र देउवाको आफ्नै आनाकानी (यो समयमा नेतृत्व लिँदा राजनीतिक रुपमा फाइदा हुन्छ कि हुँदैन भन्नेमा उनी आफैं पूर्णरुपमा विश्वस्त छैनन्) का कारणले गर्दा ओलीलाई नै सत्तामा रहन मद्दत मिल्न सक्दछ । तर कोभिड महामारीको व्यवस्थापनमा ओली गैरजिम्मेवार रहँदै आएका छन् भने आन्तरिक राजनीतिको व्यवस्थापनमा गैरलोकतान्त्रिक छन् । साथै अल्पसंख्यकको विषयमा उनी विभेदकारी रहँदै आएका छन् ।

यो अवस्थामा दिल्ली ओलीलाई दिएको समर्थनबाट पछाडि हट्नुपर्दछ र नेपालको राजनीतिक प्रक्रियालाई आफ्नै ढंगले देशभित्रै अगाडि बढ्न दिनुपर्छ ता कि जसले नेतृत्व गरेपनि राजनीतिक विकल्प खुल्ला होस् । साथै भारतले नयाँ बन्ने वैकल्पिक सरकारलाई समर्थन गर्नुपर्दछ र महामारी नियन्त्रणको सवालमा मुलुकभित्रको आवश्यकता समेतलाई मध्यनजर गर्दै आफ्नो सबैभन्दा नजिकको छिमेकी नेपाललाई पनि सक्दो सहयोग गर्नुपर्दछ ।