काठमाडौँ – कोरोना भाइरस संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञा जारी गरिएका जिल्लाको संख्या ७२ पुगेको छ । निषेधाज्ञा जारी हुन बाँकी जिल्लाको संख्या अब पाँच मात्रै रहेको छ । मन्त्रिपरिषद्को निर्णयअनुसार कोरोना भाइरस संक्रमणको जोखिम मूल्यांकन गरी प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा जारी गर्न सक्छन् ।
गृह मन्त्रालयका अनुसार निषेधाज्ञा घोषणा गरिएका ७२ जिल्लामध्ये ६५ जिल्लामा पूर्ण र सात जिल्लामा आंशिक मात्रै लागू गरिएको छ । निषेधाज्ञा घोषणा गरिएकामध्ये काभ्रे, मकवानपुर, रामेछाप, ताप्लेजुङ, सिन्धुपाल्चोक, धनकुटा र सप्तरीमा संक्रमित बढी देखिएका ठाउँमा मात्रै निषेधाज्ञा जारी गरिएको मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रिपरिषदको केही दिन अगाडि बसेको बैठकले तराईं–मधेस तथा उपत्यकाका जिल्लामा पाँच सय र पहाडी जिल्लामा दुई सय सक्रिय संक्रमित पुगे प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा जारी गर्नसक्ने निर्णय गरेको थियो । सोही निर्णय अनुसार प्रमुख जिल्ला अधिकारीहरूले संक्रमणको अवस्था हेरेर निषेधाज्ञा जारी गर्दै आइरहेका छन् ।
प्रतिक्रिया