राजनीति

अब नयाँ सरकार कसरी बन्छ ?


काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत नपाएपछि विपक्षीहरु नयाँ सरकार गठनको प्रक्रिया छन् । विपक्षीहरुले बहुमत पु¥याउन सके अबको केही दिनमा नयाँ सरकार बन्नेछ । तर गठबन्धनमा जुटेका दलहरुँंग प्रष्ट बहुमत नभएकाले सरकार गठनमा चुनौती कायमै छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वास गुमाएपछि विपक्षी गठबन्धनका तीन दलले सरकार बनाउने प्रक्रिया अघि बढाएका छन् । कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जसपाका अध्यक्ष उपेन्द्र यादवले संयुक्त विज्ञप्ति जारी गर्दै सरकार गठनको दाबी गरेपछि सोमबार बेलुका नै राष्ट्रपति विद्यादेवी भण्डारीले तीन दिनको समय दिएर नयाँ सरकार गठनको बाटो खोलेकीछिन् ।अब विपक्षीहरुले संविधानको धारा ७६ को (२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमतको सरकार बनाउँनेछन् ।

झन्डै ३८ महिनापछि संसद्मा आफ्नो शक्ति जाँच्न पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले जम्मा ९३ मत पाए, जुन कुल सांसद संख्याको करिब ३५ प्रतिशत मात्रै हो ।तीनबर्ष अघि प्रधानमन्त्रीको सपथ खाँदा १९३ सांसद अर्थात करिब ६४ प्रतिशतको समर्थनसहित सरकारको नेतृत्व गरेका ओली अहिले स्पष्ट अल्पमतमा परेपनि विपक्षीहरुसंग पनि बहुमत छैन ।विहिबारसम्म सरकार बनाउन चाहिने १३६ सांसद पु¥याउन दलहरुलाई चुनौति देखिन्छ ।जसले प्रधानमन्त्री ओली ७६ (३) मा प्रवेश गर्ने सम्भावनाले विपक्षीलाई अत्याएको छ ।

गठबन्धनको सरकार बनाउने संख्या पुग्न कांग्रेसका ६१, माओवादी केन्द्रका ४९ र जसपा ३२ मध्ये कम्तिमा २६ सांसदको साथ चाहिन्छ । तर जसपाको उपेन्द्र यादव पक्षले सरकार गठनमा पहल लिएपनि १५ सांसद रहेको महन्थ ठाकुर पक्षले सरकारमा सामेल नहुने स्पष्ट पारेको छ । यस्तो अवस्थामा प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिएको एमालेकै माधव नेपाल पक्षले राजीनामा दिए सरकार बन्न सक्छ ।

जसका लागि दलहरु जसपालाई एकमत बनाउने वा एमालेभित्रकै माधव पक्षसंग खेलेर राजीनामा दिन लगाउने भन्ने गृहकार्यमा जुटेका छन् । तथापी प्रधानमन्त्री ओलीले आफुबाहेकका दलहरुले सरकार बनाउन नसक्ने आँकलन गरिरहेका छन् । एमालेको ओली पक्षले विपक्षीको सरकार बनाउने कसरतलाई ‘भ्यागुताको धार्नी पु¥याउने कोशिसका रुपमा बुझेको छ ।’

सरकार बनाउन माओवादी केन्द्रका अध्यक्ष दाहाल र कांग्रेस सभापति देउवा निरन्तर छलफल र गृहकार्यमा छन् । मंगलबार पनि उनीहरुबीच छलफल चलेको थियो । तर जसपा आन्तरिक रुपमा स्पष्ट नभएकालेनयाँ सरकार गठनका लागि सहज स्थितिमा आईपुगेका विपक्षीले बहुमत जुटाउन नसके घुमिफिरी ओली कै हातमा सत्ता आईपुग्न असम्भव देखिदैन ।