देश

केपी ओलीको तर्फबाट कुनै ठोस प्रस्ताव आएन, हामीले आफ्नो निर्णय गर्नुपर्छ : माधव नेपाल


काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट कुनै पनि ठोस प्रस्ताव नआएको र एकता जोगाउने प्रयत्न समेत नगरेको बताउनुभएको छ । नेता नेपालले आफु निकट सांसदहरुलाई सिंहदरबारमा जानकारी दिदै पार्टी एकता कायम राख्नेगरी ओलीका तर्फबाट कुनै प्रस्ताव नआएको बताउनुभएको छ ।

साथै नेता नेपालले अब आफुहरुले एउटा निर्णय लिने पनि बताउनुभयो । राजीनामा लेखेर नेता नेपाललाई बुझाएका आफ्ना पक्षका सांसदहरुलाई भेट्नुअघि नेता नेपाल र ओलीको सन्देश बोकेर आएका विष्णु पौडेल र सुवास नेम्वाङसँग सिंहदरबारमा पौने घण्टा छलफल भएको थियो ।

यस्तै भोलि संसदमा हुने प्रधानमन्त्रीलाई विश्वासको मतमाथिको मतदानमा प्रधानमन्त्रीको पक्षमा मतदान गर्न पार्टीले ह्वीप जारी गरेको छ। नेता नेपाल पक्षका सांसद भने ओलीको पक्षमा मतदान गर्नुको साटो पदबाटै राजीनामा दिने तयारीमा छन् ।