राजनीति

ओलीका अघि प्रचण्ड–देउवा यसकारण कमजोर, कसरी हटाउने भन्नेमै कुरा मिलेन, माधव जता उतै जीत (भिडियोसहित)

ओलीलाई हटाउन अविश्वासकै प्रस्तावमा जानुपर्ने पक्षमा माओवादी केन्द्र उभिएको छ भने कांग्रेस अझै दोधारमै देखिन्छ ।


काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने निर्णय गरेसँगै विपक्षीहरु थप अलमलमा परेका छन् । ओलीलाई विश्वास मत नदिने विषयमा सहमति भएपनि अविश्वासको प्रस्ताव ल्याउन बहुमत संख्या जुटेको छैन । जसले प्रधानमन्त्री ओलीले नै अल्पमतको सरकार चलाउने सम्भावना बलियो हुँदै गएको छ ।

एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको मोर्चा बनाएका विपक्षी दल नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपाको उपेन्द्र यादव र बाबुराम भट्टराई समुहले अविश्वासको प्रस्ताव ल्याउने घनिभूत छलफल चलाईरहेका बेला ओलीले विश्वासको मत माग्ने निर्णय गरे । यसले विपक्षीको गठबन्धनलाई एक हिसाबले ‘कुचोले बढार्नुपर्ने फोहोर हावा आएर उडाउन थाल्यो’ भने जस्तै पनि भयो । किनकि अब ओलीलाई विश्वासको मत नदिएर हराउन सकिन्छ । तर अल्पमतमा परेको सरकारलाई हटाउन भने सकिने छैन । ओलीको हातबाट जसरी पनि सत्ताको तालाचाँबी खोस्न अघि बढेका दलहरुले सरकारको विकल्प दिन भने अविश्वासको प्रस्ताव नै ल्याउनुपर्ने देखिन्छ । तर संसदको विशेष अधिवेशनमार्फत विश्वासको मत लिने दिन नजिकिसक्दा पनि विपक्षमा उभिएका दलहरू अलमलमै छन् । बरु एमालेकै माधव पक्षको साथ खोजिरहेका छन् ।

ओलीले संसदमा विश्वासको मत पु¥याउन नसकेमा अल्पमतकै सरकारको नेतृत्व गर्नसक्ने सभावना बलियो छ । विपक्षीहरुको गठबन्धन पनि हुन नदिने र अल्पमतकै सरकार चलाएर चुनावमा जाने ओलीको सम्भावित कदमले विपक्षीहरु सशंकित छन् । तर ओलीलाई हटाउन ठोस एजेन्डाका साथ अघि बढेका छैनन् । विपक्षी गठबन्धनलाई अविश्वासको प्रस्ताव पास गराउन दुईधारमा विभाजित जसपाको पुरै संख्याले साथ दिनुपर्नेछ । नभए एमालेकै माधव पक्षले राजीनामा अथवा फ्लोर क्रस गर्नुपर्नेछ । जुन सम्भावना बलियो छ । किनकि राष्ट्रियसभाको उपनिर्वाचनका लागि कांग्रेस, माओवादी र जसपाको एक समुहसहित माधव पक्ष पनि गठबन्धनमा सामेल छ । तर एमालेजस्तै दुईधारमा विभाजित जसपाको महन्थ ठाकुर पक्ष विपक्षीभन्दा ओलीकै मोर्चामा क्रियाशिल छ । यो पक्षले विश्वासको मत ओलीलाई दिनेदेखि सरकारसम्मकै यात्रा तय गरिरहेको छ ।

ओलीलाई हटाउन अविश्वासकै प्रस्तावमा जानुपर्ने पक्षमा माओवादी केन्द्र उभिएको छ भने कांग्रेस अझै दोधारमै देखिन्छ । जसपा अनिर्णित भइरहेको अवस्थामा अविश्वासको प्रस्ताव ल्याएर संख्या नपुगे अर्काे एक बर्षसम्म ल्याउन नपाईने डर र सरकार बन्ने अवस्था रहँदासम्म संसद् विघटनको सम्भावना नभएको भन्दै विश्वासकै मतमार्फत ओलीलाई हराउनुपर्ने कांग्रेसको मत छ । तर अल्पमतमा पर्ने थाहा हुँदाहुँदै नियमित अधिवेशन नबोलाएर विशेष अधिवेशनमार्फत विश्वासको मत लिन खोजिरहेका ओलीले सम्भावित कदमको आँकलन भने विपक्षीले गरेको देखिदैन ।