राजनीति

हार्ने चुनाव किन लड्दैछन् बादल ? एमालेलाई हराउन एमालेकै उम्मेद्वार, यस्तो छ हारजीतको अंकगणित

उपनिर्वाचनमा थापा र देवकोटा बाहेक नेमकिपाका कृष्णबहादुर तामाङले उम्मेद्वारी दिएका छन् ।


काठमाडौँ – सत्तारुढ नेकपा एमालेले बागमती प्रदेश अन्तर्गत राष्ट्रियसभाको उपनिर्वाचनमा गृहमन्त्री रामबहादुर थापालाई उम्मेद्वार बनाएको छ । तर एमालेकै अर्काे पक्षले पनि विपक्षीको समर्थनमा उम्मेद्वारी दिएकाले जीतको अंकगणित भने कमजोर देखिएको छ ।
विहिबारसम्म हार्ने चुनाव नलड्ने अड्डी कसेका गृहमन्त्री तथा नेकपा एमालेका नेता रामबहादुर थापा बादलले अन्ततः शुक्रबार हेलिकोप्टरमा उडेर हेटौडा पुगि उम्मेद्वारी दिए । वालुवाटारमा बसेको शिर्ष नेताहरुको बैठक र विहिबार मध्यरातसम्म राष्ट्रपतिदेखि एमाले नेताहरुबीचको भेटवार्ता पछि थापा शुक्रबार जम्माजम्मी ३ घण्टाको मोटरबाटो हेलीकोप्टर नै प्रयोग गरेर हेटांैडा पुगेका थिए । जेठ ६ मा हुने बागमती प्रदेश अन्र्तगत रिक्त राष्ट्रियसभाको उपनिर्वाचनका लागि उम्मेद्वारी दिए लगत्तै गृहमन्त्री थापाले आफ्नो जीत सुनिश्चित रहेको प्रतिक्रिया दिए ।

थापाका मुख्य प्रतिस्पर्धी डा. खिमलाल देवकोटा पनि एमालेकै नेता हुन्। अहिले विपक्षी दल नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपाको उपेन्द्र यादव र बाबुराम भट्टराई समुह र एमालेकै माधव नेपाल पक्षको गठबन्धनमा उनलाई स्वतन्त्र उम्मेद्वार बनाईएको हो । तथापी एमाले–एमालेबीच नै भिडन्त हुने भएपछि दुबै पक्षले मतदाताको अंकगणित मिलाउन थालेका छन् । उनीहरुलाई प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुखले भोट हाल्नेछन् । तर एमालेको एकल बहुमत रहेको बागमतीमा माधव पक्षले विपक्षीसँग गठबन्धन गरेर अलग उम्मेदवार खडा गरेपछि थापाका लागि टाउको दुखाईको विषय भने बनेको छ । एमाले एक्लैको मत भार ५ हजार १ सय ३० भएको बागमतीमा अरु सबै एकातिर हुँदा पनि विपक्षमा ४ हजार ४ सय ५२ मतभार मात्रै छ । एमालेभित्र पनि माधव नेपाल पक्षमा एक हजार ७ सय ४० मत छ । जुन थापालाई हराउन प्रर्याप्त हुनेछ । २३८ स्थानीय तहका प्रमुख उपप्रमुखमध्ये एमालेका १३३ छन् भने माधव पक्षका ३८ जना छन् । ११० प्रदेश सदस्यमध्ये एमालेका ५७ जना छन् । जसमध्ये २२ जना माधव तिरका छन् । जसले देवकोटालाई बलियो उम्मेद्वार बनाएको छ ।

उपनिर्वाचनमा थापा र देवकोटा बाहेक नेमकिपाका कृष्णबहादुर तामाङले उम्मेद्वारी दिएका छन् । यो २०७४ सालको निर्वाचनमा माओवादी केन्द्रका तर्फबाट नेता रामबहादुर थापा ‘बादल’ निर्वाचित भएको क्षेत्र हो । माओवादी केन्द्रबाट निर्वाचित बादल एमाले प्रवेश गरेपछि रिक्त भएको क्षेत्रमा उपनिर्वाचन हुन थालेको हो । तर स्वयंम् थापा भने विपक्षीको महागठबन्धन र एमालेकै माधव पक्षले साथ नदिने भएपछि हार्ने चुनाव नलड्ने अडानमा थिए । तर अहिले सूर्य चिन्ह जता जान्छ त्यतै मत हाल्नेको संख्या पनि उल्लेख्य रहेकाले हारको नजिक रहेको थापा जीतको विश्वाससहित चुनावमा होमिएका हुन् ।