कोरोना विशेष

सिटि भ्यालु के हो ? यो घटी वा बढी हुँदा के हुन्छ ? – डा. रवीन्द्र पाण्डे


काठमाडौँ – दोस्रो लहरको उछालसंगै नेपालमा कोरोना संक्रमितको संख्या बढिरहेको छ । पीसीआर पोजिटिभ आएका हरेक व्यक्तिलाई सिटि भ्यालुमा धेरै चासो देखिएको छ । सिटि भ्यालुबारे फरकफरक धारणाको कारण धेरै व्यक्ति अलमलमा परेको देखिएको छ । यसै विषयमा रोग विशेषज्ञ डा.रवीन्द्र पाण्डेले बुँदागत रुपमा सिटी भ्यालुबारे जानकारी दिनुभएको छ ।

– सिटि भ्यालु संक्रमितको नाक वा घाँटीमा भएको भाइरसको लोड हो। यो फोक्सोमा भएको भाइरसको लोड हैन । तसर्थ सिटि भ्यालु बढी अंकमा हुँदा सुरक्षित भइने र सिटि भ्यालु थोरै अंकमा हुँदा खतरा हुने हुँदैन ।

– सिटि भ्यालुलाई धेरै कुराले असर गर्छ । नाकबाट लिइएको स्याम्पल र घांटीबाट लिइएको स्याम्पलमा पनि सिटि भ्यालु फरक हुन्छ । त्यस्तै स्वाब कसरी लिइयो ? कति मात्रामा लिइयो ? त्यसलाई कसरी सुरक्षण, परिवहन र परीक्षण गरियो ? परीक्षण गर्दा कस्तो किट वा रिएजेन्टको प्रयोग गरियो ? कस्तो जनशक्तिले परीक्षण गर्यो ? आदि अनुसार पनि सिटि भ्यालु फरक हुनसक्छ । प्रयोगशाला अनुसार पनि सिटि भ्यालु फरकफरक हुन्छ । तसर्थ सिटि भ्यालु हेरेर आत्तिनु वा ढुक्क हुनु जरुरी छैन ।

– सिटि भ्यालु एउटा चक्र पनि हो | शरीरमा भाइरस प्रवेश गरेको ३- ४ दिनसम्म भाइरसको मात्रा कम हुन्छ | तसर्थ सिटि भ्यालु २४ भन्दा माथि देखिन्छ | उक्त व्यक्तिमा ७ दिनपछि भाइरसको संख्या धेरै हुन्छ | त्यो बेला सिटि भ्यालु २४ भन्दा धेरै तलसम्म देखिन्छ । त्यहि व्यक्तिमा निको हुनेबेला भाइरस नष्ट भएर भाइरसको संख्या कम हुन्छ अनि सिटि भ्यालु २५ भन्दा माथि देखिन्छ । यो चक्र अधिकांश व्यक्तिमा देखिन्छ ।

– बालबालिका तथा युवामा इम्युनिटी पावर धेरै हुन्छ । त्यस्तै खोप लिएका व्यक्तिमा भाइरसविरुद्धको एन्टिबोडी हुन्छ | एकपटक संक्रमण भएका व्यक्तिमा पनि एन्टिबोडी बिकास भएको हुन्छ। त्यस्ता व्यक्तिमा भाइरस घांटीमै नष्ट हुन्छ | तसर्थ सिटि भ्यालु १२, १४ जस्तै छोंटो अंकमा नदेखिन सक्छ ।

– प्रबिधि तथा देश अनुसार सिटि भ्यालु कतै ३२ तथा कतै ४० सम्मलाई पोजिटिभ मानिएको छ । हाम्रो देशमा ३६ भन्दा माथिल्लो अंकलाई नेगेटिभ मानिन्छ ।

– सिटि भ्यालुमा अलमल हुनु पर्दैन । रिपोर्ट पोजिटिभ भए पोजिटिभ तथा रिपोर्ट नेगेटिभ भए नेगेटिभ बुझेर तदनुसार गर्नुपर्दछ ।

सिटि भ्यालु बुझ्ने सरल उदाहरण :..हामीले एउटा खेतमा इनार खन्दैछौं । १० – १२ वटा रिंग हाल्दैमा पानी आयो भने त्यो जमिनमा पानी प्रशस्त छ भन्ने बुझिन्छ । तर ३० – ३२ वटा रिंग हालेपछि मात्र पानी आयो भने त्यो जमिनमा पानी कम छ भन्ने बुझिन्छ । पीसीआर टेस्टमा पनि भाइरस लोड धेरै छ भने १०- २० साइकलमै भाइरस भेटिन्छ ।  भाइरसको लोड कम छ भने ३० -३२ साइकलमा मात्र भाइरस भेटिन्छ ।  सिटि भ्यालुलाई यसरी पनि बुझ्न सजिलो हुन्छ ।