राजनीति

महन्त ठाकुरको मध्यरातमा विज्ञप्ति : नयाँ सरकार बनाउदा मुद्दा अनिश्चिततातर्फ धकेलिने


काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरले मध्यराति विज्ञप्ति निकालेका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको हारेको दिन सोमबार राति विज्ञप्ति निकालेका हुन् ।

‘वर्तमान राजनीतिक परिस्थितिमा जसपा नेपाल सत्ता प्राप्तिभन्दा एजेण्डा सम्बोधन नै जसपा नेपालको मूल ध्येय रहेको अवस्थामा मुद्दाबाट विचलित भई सरकार निर्माण गर्ने, सरकारमा सहभागी हुने वा कुनै पनि किसिमको वैकल्पिक सरकार गठनमा संलग्न हुने कार्य जसपा नेपालको उद्देश्य विपरीत हो,’ उनले निकालेका विज्ञप्तिमा उल्लेख छ । विश्वासको मत दिनु पूर्व प्रधानमन्त्रीसँगको वार्तामा आफूहरुले उठाएका मागमा ओली सकारात्मक देखिएको उनले बताएका छन् । आन्दोलनको क्रममा लागेकाहरुको मुद्दा फिर्ता, बन्दी रिहाइ, नागरिकता, संविधान संशोधन लगायतका सवालहरुमा प्रधानमन्त्री ओली सकारात्मक रुपले अगाडि बढिरहेको भन्दै उनले नयाँ सरकार गठनमा सहभागी नहुने घोषणा गरेका छन् । वैकल्पिक सरकार गठनको कार्यबाट झन् अस्थिरता हुने तथा एजेण्डा सम्बोधनको कार्य अझै अनिश्चिततातर्फ धकेलिने ठाकुरको बुझाइ रहेको छ ।

सोमबार ओलीले संसदमा विश्वासको मत लिने बेला ठाकुर र उनी पक्षका सांसद तटस्थ बसेका थिए भने सोही पार्टीका अर्का अध्यक्ष डा.बाबुराम भट्टराई र उपेन्द्र यादवले विश्वासको मतको विपक्षमा मतदान गरेका थिए । जसपाका यी दुई नेता भने ओली नेतृत्वको वर्तमान सरकारलाई विदा गरेर नयाँ सरकार गठनको प्रयासमा खुलेर लागेका छन् ।

mahantha bigyapti