राजनीति

नेता सत्ताको खेलमा : अस्पतालमा बेड नपाएर संक्रमित छट्पटिदै


काठमाडौँ – कोरोनाका कारण जनता हायलकायल छन् । सरकारले भने संक्रमण नियन्त्रणका लागि महत्वपूर्ण काम गरिरहेको दाबी गर्दै आएको छ । तर बास्तविकता भने अलग छ । अहिले विभिन्न अस्पतालमा जाने हो भने संक्रमितले बेड नपाएर उपचारको याचना गरिरहेको भेटिनछन् । यता विज्ञ पनि सरकारको काम प्रभावकारी नभएकाले यस्तो अवस्था आएको दाबी गर्छन ।

सरकारले कोरोना भाइरस नियन्त्रण र रोकथामका लागि उल्लेख्य काम गरेको दाबी गरिरहँदा संक्रमितको संख्या दिनहँु बढिरहेको छ । संक्रमणका कारण ज्यान गुमाउनेको संख्या पनि बढेको छ । देशभर त्रास बढिरहँदा प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारी नियन्त्रणमा सरकार केन्द्रित रहेको प्रतिक्रिया दिएका छन् । सोमबार संसदमा विश्वासको मत लिनुअघि सम्बोधन गर्दै ओलीले अरु कुरामा ध्यान नभएर कोरोना संक्रमण नियन्त्रणमा उत्साहजनक काम गरिरहेको दाबी गरेका हुन् ।

प्रधानमन्त्रीले कोरोना संक्रमण नियन्त्रणमा केन्द्रित रहेको दाबी गरिरहँदा विज्ञ भने त्यसलाई मान्न तयार छैनन् । प्रधानमन्त्री, मन्त्री तथा सरकारका पदाधिकारीले भनेजस्तो परिणाम नआएको उनीहरूको भनाइ छ । दिनहुँ ठूलो परिमाणमा संक्रमित फेला पर्नु र मृतकको संख्या बढ्नुले सरकारको काम सन्तोषजनक नभएको प्रष्ट हुने विज्ञ बताउँछन् ।

यता शुक्रराज ट्रपिकल सरुवा रोग अस्पतालमा कोरोना संक्रमितले सबै बेड भरिएको छ ।
कतिपय कोरोना संक्रमितलाई भित्र ठाउँ नभएर बाहिर कुर्सी, म्याट र केही बेडमा कोरोना अक्सिजनमा राखिएको छ । संक्रमितका आफन्तहरु पिडा उस्तै छ । संक्रमितको स्थिती हेर्न अस्पताल आउन भन्दै उनीहरु प्रधानमन्त्रीविरुद्ध आक्रोश पोख्छन् । सरकार भने अब आफ्नो सुरक्षा आफैँ गर’ भनेजस्तोगरी सत्ता बचाउन केन्द्रित हुने अनि भाषणमा मात्र कोरोना नियन्त्रणका लागि प्रभावकारी काम गरिरहेका छौँ भन्ने ? यस्तोे द्वैध चरित्रबाट सरकार मुक्त हुनै पर्छ ।