समाचार

दुई चिनियाँ कम्पनीसहित ११ कम्पनी कालोसूचीमा


काठमाडौँ – दुई चिनियाँसहित ११ निर्माण तथा सप्लायर्स कम्पनी सरकारको कालोसूचीमा परेका छन् ।

सार्वजनिक खरिद ऐन, २०६३ को दफा दफा १ अनुसार विभिन्न ११ निर्माण तथा आपूर्तिकर्तालाई १ देखि ३ वर्षसम्म कालोसूचीमा राखेको सार्वजनिक खरिद अनुगमन कार्यालयले जनाएको छ । कबुलअनुसारको दायित्व पूरा नगरेपछि सार्वजनिक खरीद अनुगमन कार्यालयले विभिन्न सरकारी निकायको सिफारिसमा ११ निर्माण तथा सप्लायर्स कम्पनीलाई कालोसूचीमा राखेको हो ।

सिनोस्टिल इक्विपमेन्ट एण्ड इन्जिनियरिङ को–लिमिटेड र स्यानडोङ जावोई स्टिल टावर कम्पनी लिमिटेड जिम्मेवारी पूरा नगरेपछि कालोसचीमा परेका हुन् । यी दुई कम्पनी क्रमशः लिऊ हुई र गाओ हाईफू स्वामित्वका हुन् । सिनोस्टिल र स्यानडोङलाई प्राधिकरणको सिफारिसमा ०७८ वैशाख २२ गतेको निर्णयअनुसार २ वर्ष कालोसूचीमा राखिएको सार्वजनिक खरिद अनुगमन कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार, भौतिक विकास मन्त्रालयअन्तर्गतको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, सर्लाहीको सिफारिसमा शिवराम कन्स्ट्रक्सन प्रालि, जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय, रामेछापको सिफारिसमा राम्चे सिद्ध निर्माण सेवा प्रालि र जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय, संखुवासभाको सिफारिसमा बेलका कन्स्ट्रक्सन प्रालिलाई कालोसूचीमा राखिएको छ । यी कम्पनीलाई क्रमशः ३, २ र १ वर्ष कालोसूचीमा राखिएको हो । अब यी कुनै पनि कम्पनीले कालोसूचीमा समेटिएको अवधिमा सरकारी निकायमा निर्माण तथा सप्लाईको काम गर्न पाउने छैनन् ।