राजनीति

जसपाको तनमन ओलीतिरै गएपछि देउवा–प्रचण्डछटपटीमा, ओलीको विकल्प प्रचण्डले खोज्न सक्दैनन्


काठमाडौँ – मुलुकमा पछिल्लो केही समययता देखिएको राजनीतिक गतिरोध थप पेचिलो बन्दै गएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोज्ने विपक्षी दलको प्रयास असफल बन्दै गएको छ भने ओली एकपछि अर्काे कदम चाल्दै आएका छन् । जसले राजनीतिक अस्थिरतालाई झन बलियो बनाएको छ ।

सत्ताको प्रमुख विकल्प मानिएका राजनीतिक दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) एकमत भएको खण्डमा वैकल्पिक सरकार निर्माणको सम्भावना बलियो छ । यही सम्भावना देखेर प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले चैत २० गते नै प्रधानमन्त्री ओलीको राजीनामा मागेको थियो । माओवादी केन्द्रले सरकार दिएको समर्थन फिर्ता लिने आश्वासन पाएपछि कांग्रेसले राजीनामा माग्नेसम्मको हिम्मत देखाएको हो । तर लामो समय वितिसक्दासमेत माओवादी केन्द्रले समर्थन फिर्ता नलिएपछि कांग्रेसमा असन्तुष्टि बढेको छ । उसैपनि गठबन्धनको सरकारभन्दा ओलीकै नेतृत्वमार्फतअर्लि निर्वाचन खोजिरहेको कांग्रेसले माओवादी केन्द्र र जसपाको भूमिकामाथि नै प्रश्न उठाउदै आएको छ ।

प्रधानमन्त्री ओलीको विकल्प खोज्न सबैभन्दा धेरै हतारिएको माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन । पटकपटक यसबारे निर्णय गर्न पार्टीभित्र छलफल चलाएपनि समर्थनबारे आनाकानी गरिरहेको माओवादी केन्द्रले बुधबारको बैठकमार्फत पनि निर्णय लिन सकेन । तर अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार निर्माण गरेर छोड्ने अड्डी कस्न भने छोडेका छैनन् ।

तत्कालिन नेकपा एकता बदर भएर नेकपा एमाले र माओवादी केन्द्र ब्युँतिएपछि नै सरकार निर्माणबारे विपक्षीले पहल थालेका हुन् । तर दलहबीच नै अविश्वास झाङगीएपछि एकले अर्काेका नेतृत्व स्वीकार्नै हम्मेहम्मे परेको छ । विपक्षीको योजना कार्यान्वयनमा जान नसक्नुको अर्काे कारण जसपाभित्र एकमत नहुनु पनि हो । ओलीलाई हटाएर नयाँ सरकार बनाउनउपेन्द्र यादव र बाबुराम भट्टराईको विशेष जोड भएपनि महन्थ ठाकुर र राजेन्द्र महतो ओलीतिर ढल्कीएपछि सत्ता समीकरण निरर्थक बनेको छ ।

प्रधानमन्त्री ओली नेतृत्वको सरकार टिकाउन जसपाका ठाकुर र महतोहरुले पार्टी फुटाएर भएपनि साथ दिने तयारी गरेको छन् । किनकी प्रधानमन्त्री ओलीले जसपाले उठाएका मुद्वा सम्बोधनको प्रक्रिया नै अघि बढाइसकेकाले जसपाको एक टीम कांग्रेस, माओवादीको मोर्चामा उभिने देखिदैन । यसले प्रधानमन्त्री ओली नै बढी सुरक्षीत बन्दै गएका छन् । किनकी विपक्षीहरुले सरकार फेरबदलको गणित मिलाइरहेका बेला प्रधानमन्त्री ओलीले संसद्को अधिवेशन नै अन्त्य गरिदिएका छन् । यसले सत्ता फेरबदलका लागि संसद्को अर्काे अधिवेशन पर्खिनुको विकल्प विपक्षीहरुसंग छैन ।