कोरोना विशेष

फेरि निषेधाज्ञा र लकडाउन हुने भएपछि मजदूरका आँशु झर्न थाले, रोगको भन्दा भोकको डर, भन्छन्, ‘बाँच्नै गाह्रो हुने भो’


काठमाडौँ – गत वर्षको झण्डै ६ महिना लकडाउनले थलिएका निम्न आयश्रोत भएका मजदुरहरुलाई फेरि बन्दाबन्दीको खबरले चिन्तीत तुल्याएको छ । उनीहरु रोगले भन्दा भोकले पिल्सीने खतरा बढेकोमा निराश बनेका छन् ।
अघिल्लो वर्षको लकडाउनले भर्खर भर्खर तंग्रिँदै गरेका निम्न आयश्रोत भएका गरिखाने वर्ग फेरि एक पटक थलिने अवस्थामा आइपुगेका छन् । दिनभरी पसिना बगाएर विहान बेलुका परिवारको छाक टार्ने वर्ग बन्दाबन्दीको खबरले सवैभन्दा बढि पिल्सीएका हुन् । काठमाडौँको व्यापारिक केन्द्र र चोकहरुमा मंगलबार दिउँसो पुग्दा यसरी चिन्तामा डुबेका मजदुरहरु बेग्रल्ती भेटिए । उनीहरुलाई कोरोनाभन्दा बढि पीडा अब के खाने भन्नेमा रहेको छ । कोरोनाको नयाँ भेरियन्टको बारेमा सुनेपनि यसको भन्दा बढि अब कसरी खानेकुराको जोहो गर्ने भन्ने चिन्ता रहेको देखिन्छ । यदि निषेधाज्ञा गर्ने भए सरकारले मजदुरहरुको लागि विशेष राहतको व्यवस्था गरिदिए हुने आशा राख्दछन् ।

गत वर्ष पनि यस्तो संकटको बेलामा सरकारले मजदुरहरुलाई वेवास्था गर्दा विचल्लिमा परेका थिए । त्यसबेला पनि सरकारले करोडौँ रुपैयाँको राहत वितरण गरे पनि काठमाडौँमा यसरी दुखजिलो गरि बस्ने मजदुरहरुलाई त्यो राहतले छुन सकेन । बन्दाबन्दीको समयमा उद्योग बजार, पसलहरु ठप्प अवस्थामा रहने भएकाले मजदुहरुको रोजीरोटी पनि गुम्ने गरेको हो । त्यसोत स्वास्थ्य मापदण्ड अपनाएर काम गर्ने वातावरण बनाइदिन सरकार समक्ष उनीहरुको माग छ ।

तर राज्य यस्तो संकटको समयमा जिम्मेवार बन्न नसकेको भन्दै आलोचना हुँदै आएको छ । काठमाडौँ उपत्यकामा यसरी दिनभरी भौतिक श्रम गरी पसिना बगाएर विहान बेलुकाको छाक टार्ने संख्या ठूलो छ । कोरोनाको संक्रमण फैलदो क्रममा रहेकाले बन्दाबन्दीको समय पनि थप लम्बीने सम्भावना त छँदै नै छ । त्यसैले यस्ता वर्गको जीवन बचाउनका लागि स्वास्थ्यसंगै राहतमा पनि ध्यान दिन जरुरी छ ।