Breaking

सोलु नगरको मेयरका उम्मेद्‌वार को हुन् काजी शेर्पा ?


काठमाडौँ – सोलुखुम्बुको एक मात्र सोलुदुधकुण्ड नगरपालिकाको मेयरमा नेकपा एमालेबाट आङकाजी शेर्पाले उमेदवारको टिकट पाएका छन् । अघिल्लो स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेससंग झिनो मत अन्तरले पराजित भएको नेकपा एमालेबाट यस पटक मेयरका सोलु नगरपालिकामा आङकाजी शेर्पा उमेदवार बनेका हुन् ।

उनी झण्डै १० वर्ष नेपाली काँग्रेसको राजनीतिमा सक्रीय थिए । पछिल्लो समय नेपाली काँग्रेसको १४ औँ महाधिवेशन प्रतिनिधि रहेका शेर्पा यही बैशाख ५ गते मात्रै नेकपा एमालेमा पार्टी प्रवेश गरेका थिए । काँग्रेसको गएको महाधिवेशनमा सर्वाधिक मत ल्याई महाधिवेशन प्रतिनिधि बनेका, जिल्लामा लोकप्रीय नेताको हैसियत बनाएका आङकाजी शेर्पा लगायत सयौँको संख्यामा नेपाली काँग्रेसका नेता कार्यकर्ताहरु एमाले प्रवेश गर्ने भएपछि गत ५ गते एमाले अध्यक्ष केपी शर्मा ओली नै सोलु पुगि पार्टीमा स्वागत गरेका थिए ।

पार्टी प्रवेश लगत्तै शेर्पालाई नगरपालिकाको मेयरको उमेदवार बन्न एमालेका जिल्ला नेताहरुबाट प्रस्ताव आएको थियो । सोही प्रस्ताव अनुसार उनको नाम मेयरका लागि प्रदेश कमिटिमा पठाइएको थियो । जिल्लाको अन्य गाउँपालिकाहरुमा अध्यक्षका लागि आकांक्षीहरु धेरै भए पनि सोलु नगरपालिकामा आङकाजी शेर्पा नै मेयरमा उठ्न तयार भएपछि अन्य आकांक्षीहरु पछि हटेका थिए ।

आङकाजी शेर्पा गत स्थानीय तहको निर्वाचनमा पनि नगरपालिकाको मेयरका लागि नेपाली काँग्रेसबाट आकांक्षी थिए । तर नाम्गेल जाङबु शेर्पालाई टिकट दिइएपछि शेर्पा पार्टीको राजनीतिमा मात्रै सक्रीय थिए । १४ औँ जिल्ला अधिवेशनबाट पार्टीमा गुटवन्दी झनै झाँगिएपछि काजी शेर्पाले पार्टीभित्र विधिको शासन हराएको भन्दै असन्तुष्टी राख्दै आएका थिए ।
काजी शेर्पा सामाजिक कार्यमा पनि अग्रपंक्तिमा पर्ने व्यक्ति हुन् । बौद्धमार्गीहरुको सामूदायिक संगठन शेर्पा सेवा केन्द्रका शेर्पा वर्तमान महासचिव पनि हुन् । उनी मुलतः व्यवसायी हुन् । पर्यटन, होटल व्यवसाय उनको मुल व्यवसाय हो । उनले करिव एक दशक निर्माण व्यवसायीको रुपमा समेत काम गरेका छन् ।

ओखलढुंगा–सोलु सडक कालोपत्रे उनैले गरेका हुन् । हाल उनी नेपालकै पाँचौ एचडी टीभी च्यानल योहो टेलिभिजनका अध्यक्ष समेत हुन् । उनी गाउँमै कृषि उपार्जन र उद्योग सञ्चालन गरी गाउँलाई विकासमा रुपान्तरण गर्नु पर्छ भन्ने मान्यता राख्ने व्यक्ति हुन् । उनले सोलु नगर क्षेत्रमै पर्ने उनको जन्मस्थान केरुङमा ७ सय रोपनी भन्दा बढि जमिनमा ओखर, किबी र स्याउ खेती, बाख्रापालन, भैँसी पालनदेखि कुखुरा पालनसम्मका करोडौँ रुपैयाँ लगानीमा फार्म सञ्चालन गरिरहेका छन् ।

गाउँमै मिनरल वाटरको उद्योग, इट्टा उद्योग सञ्चालनका लागि समेत तयारी गरिरहेका छन् । गाउँमा विकासका कार्यहरु अघि बढाए मात्रै नगरको समृद्धि हुने उनको बुझाई छ । आफू नगरपालिकाको मेयर भए गाउँमा हरेक युवाहरुलाई यस्तो व्यवसाय सञ्चालनका लागि अभिप्रेरित गर्ने लक्ष्य लिएका छन् ।