Breaking

ओली सोलु पुग्दा काँग्रेसमा तरंग, काँग्रेस छोडी एमाले प्रवेश गरेका आङकाजी भन्छन्– सोलुका सबै स्थानीय तह जित्छौं


काठमाडौँ – आगामी बैशाख ३० मा तोकिएको स्थानीय तह निर्वाचनका लागि पार्टी प्रवेशीलाई स्वागत गर्न शिर्ष नेतृत्वको दौडधुप चलिरहेको छ । नेपाली काँग्रेसको ठुलो हिस्सा पार्टी प्रवेश गर्ने भएपछि एमाले अध्यक्ष केपी शर्मा ओली आज सोलुखुम्बु पुगेका छन् ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सोलुखुम्बुको सदरमुकाम पुग्दा सल्लेरीका सल्लाहरुमात्रै हल्लीएनन्, आफ्नो गड क्षेत्रमै धक्का महसुस गरेको नेपाली काँग्रेस सोलुखुम्बुमा तरंग पैदा भयो ।

किनकि नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि आङकाजी शेर्पासहित करिब ५ सयको संख्यामा नेता कार्यकर्ता एमाले प्रवेश गरे ।

शेर्पा काँग्रेसको १४ औं महाधिवेशनमा अत्याधिक मतसहित निर्वाचित महाधिवेशन प्रतिनिधि हुन् । तर काँग्रेस नीति, विचार र सिद्धान्तमा ध्वस्त भई परिवारवाद र गुट, उपगुटको फोहोरले डंगुर जस्तो बनेको बताउँदै उनीसहितको समूह एमाले प्रवेश गरेको हो ।

गत निर्वाचनमा ८ स्थानीय तह रहेको सोलुखुम्बुमा काँग्रेसले सोलु दुधकण्ड नगरपालिका मात्रै हात पारेको थियो । आङकाजी शेर्पाको राजनीतिक आधार क्षेत्र पनि यही नगरपालिका हो । यही क्षेत्रका सयौं कार्यकर्ता गुमाएपछि धक्का खाएको काँग्रेसलाई ओलीले टिकटक, फेसबुक समेत हेर्न नसक्ने अवस्थामा पु¥याएको भन्दै खुशी मनाउ गरे ।

काठमाडौंमा सत्ता गठबन्धन चुनाव सार्ने कि टार्ने रस्साकस्सी चलाइरहेका बेला ओली सोलु हानिएका हुन् । निर्वाचनको मुखमै काँग्रेस र माओवादी लगायतका दलबाट ठुलो संख्यामा नेता कार्यकर्ता प्रवेश गर्ने भएपछि ओली मात्रै हौसिएनन्, एमालेका केन्द्रीय नेताहरु पनि कांग्रेसको दादागिरी सकिएको भन्दै हर्ष बढाइ गरिरहेका छन् ।

पाँच दलीय गठबन्धन आफ्नाविरुद्ध उभिएका बेला एमाले एक्लै निर्वाचनमा जाने तयारी गरिरहेको छ । हिमाली जिल्ला सोलुखुम्बमा समेत निर्वाचनले छपप्कै छोएको छ । यसका लागि जतिसक्दो धेरै अन्य पार्टीबाट कार्यकर्ता भित्र्याएर चुनाव जित्ने नीति एमालेको छ ।

स्थानीय तहको निर्वाचन जतिजति नजिकिंदो छ, पार्टी फेरबदलका दृश्यहरु उस्तै उस्तै बढ्दैछन् । राजनीतिक दलहरुसमेत यसैलाई अवसर बनाएर आफ्नो पल्ला भारी बनाउन लागिपरेका छन् । सहज तरिकाले अवसर पाउन सकिने भएपछि पार्टी अदलबदल नेताहरुका लागि पनि सामान्य बनेको छ ।