देश

सुधार भएन वर्षमानको स्वास्थ्य अवस्था,थप उपचारका लागि चीन लगियो


काठमाडौँ – नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनको स्वास्थ्यमा सुधार नआएपछि थप उपचार गर्न चीनको सेञ्जेन लगिएको छ । उनलाई थाईल्याण्डबाट थर्ड पिपुल्स हस्पिटल अफ सेन्जेन लगिएको हो।

विश्वमै बिरलै देखिने जटिल प्रकृतिको जण्डिसले सताएपछि पुन डेढ महिनादेखि बैंककस्थित समितिभेज अस्पतालमा उपचार गराइरहेका थिए । अस्पतालमा उपचार गरिरहेका चिकित्सकहरूले स्वास्थ्यमा उल्लेख्य सुधार नआएपछि थप उपचारका लागि चीन लैजान सुझाव दिएसँगै उनलाई त्यसतर्फ लगिएको हो । वंशाणुतग रूपमा रहेको जण्डिस दोहोरिएपछि नेता पुन गत असोज १३ गते बैंकक गएका थिए।

नेता पुनसँगै पूर्वसभामुख तथा उनकी पत्नी ओनसरी घर्ती र छोरी शीला बैंककबाट चीनको सेन्जेन गएका छन्। उनीहरू आजै मध्यान्ह अस्पताल पुगेर उपचार सुरू हुने बताइएको छ। पुन नेपालमा हुँदा सुमेरू र ग्राण्डी अस्पतालमा उपचार गराएका थिए । त्यसअघि उनले भारतको एपोलो अस्पतालमा पनि उपचार गराएका थिए ।

कोरोनाको संक्रमणको त्रास र आवत जावतमा चीन सरकारले लगाएको कडा मापदण्डका कारण थप उपचारका लागि चीन लैजानका लागि चिनियाँ पक्षसँग माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि पहल गरेका थिए।