राजनीति

भूमि आयोग विघटन गर्ने सरकारको निर्णयप्रति एमालेको आपत्ति


काठमाडौँ – नेकपा एमालेले भूमिसम्बन्धी समस्या समाधान आयोग विघटन गर्ने सरकारको निर्णयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । बुधवार एक विज्ञप्ति जारी गर्दै उक्त निर्णय तत्काल सच्याउन माग गरिएको छ । राजनीतिक प्रतिशोध र पूर्वाग्रहका आधारमा आयोग विघटन गर्ने सरकारको निर्णयले मुलुकका लाखौँ भूमिहीन तथा अव्यवस्थित बसोबासीहरुको जमिनको अधिकारसम्बन्धी मौलिक हकमाथि कुठाराघात गरेको एमालेको ठहर छ ।

भूमिहीन, सुकुम्बासी, दलित तथा अव्यवस्थित बसोबासीहरुका हकहितप्रति एमाले सजग र संवेदनशील रहेको विज्ञप्तिमा उल्लेख छ । उनीहरुका जायज माग र आवाजप्रति एमालेको ऐक्यबद्धता तथा साथ रहने पनि स्पष्ट पारिएको छ ।