Breaking

बालेनले ल्याएको हुरी,ठूला दल सखाप हुँदै, देशभर स्वतन्त्रले दलका किल्ला भत्काए, दलीय व्यवस्थामा धक्का


काठमाडौँ — ठूला राजनीतिक दलले विरासतकै आधारमा भोट पाएर चुनाव जित्दै आएका छन् । मतदाता पनि दलमै एक छापे भोट हाल्दै आएका छन् । तर पछिल्लो समय मानसिकता परिवर्तन गर्दै मतदाताले राजनीतिक दलको विकल्पमा मतदान गर्न सुरु गरेका छन् । जसले दलीय व्यवस्थाकै जग हल्लाउन थालेको छ । गत निर्वाचनमा विवेकशीलकी रञ्जु दर्शना र साझाका किशोर थापाको हावा चलेको थियो । थोरै समय चलेको हावाले हुन्डरी मच्चाउन सकेन । अहिले काठमाडौंमा हुरी चलेको छ, जसको शक्ति हावाभन्दा कयौं गुणा तेज छ । र विरासतका बलमा चुनाव जित्दै आएका राजनीतिक दलहरुलाई बढार्न खोजिरहेको छ । संख्या थोरै सही केही धेरै हुँदैछ । स्वतन्त्र बालेन साहका नाममा चलेको यो हुरी कुनै चमत्कारिक होइन, यो त दलहरुप्रति पोखिएको असन्तुष्टिको उत्कृष्ट नमुना हो ।

काठमाडौंका मतदाताले राजनीतिक दललाईसबक सिकाउने मात्रै होइन, दण्ड नै दिन खोजिरहेका छन् ।बालेनले एजेन्डामार्फत भरोशा दिलाएकै कारण मात्र मत आएको पनि देखिँदैन । बरु दलीय व्यवस्थाका नाममा ‘जे पनि छुट’ भन्ने मानसिकतामा रहेका दललाई तह लगाउन स्वतन्त्र उम्मेदवारको प्रयोग बढाएको सहजै अनुमान लगाउन सकिन्छ । किनकि हुरी काठमाडौंमात्रै चलेको छैन, केही सीमित तर देशभर नै चलेको छ ।राजधानीभन्दा धेरै परको शहर धनगढी उपमहानरमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले तहल्का पिटिरहेका छन् ।विरासतधारी नेपाली काँग्रेस र एमाले जस्ता दलले दोब्बरभन्दा कम मत ल्याएर पकड गुमाइरहेका छन् ।पश्चिमको धनगढीमा हुरी चलिरहेका बेला मधेशको जनकपुर उपमहानगरपालिकामा स्वतन्त्रउम्मेदवार मनोजकुमार साह सुडी अग्रता लिएर जित नजिक छन् ।

पूर्वको धरान उपमहानगरमा स्वतन्त्र हर्क साम्पाङले लिड गरिरहेका छन् । विराटनगर महानगरपालिकामा स्वतन्त्र उमेशकुमार यादवले तेस्रो धेरै मत ल्याएर ठूला दललाई चुनौती दिइरहेका छन् ।अझ महोत्तरीको बर्दिबासमा त मेयरका स्वतन्त्र उम्मेदवार प्रल्हाद क्षेत्रीले अग्रता लिइरहेका बेला एक, सात र १४ नम्बर वडासमेत स्वतन्त्रले जितेका छन् ।स्वतन्त्रको हुरी सूदुरको बझाङदेखि डडेल्धुरा, कर्णालीको जुम्लादेखि दैलेख र प्रधानमन्त्री शेरबहादुर देउवाले बसोबास गर्दै आएको वडा बुढानिलकण्ठ–३ सम्मै चलेको छ । जसले ठूला राजनीतिक दललाई धक्कामात्रै दिएको छैन, दलीय व्यवस्थाको जगनै हल्लाएर बेचैन बनाइरहेको छ ।

निर्वाचन आयोगको तथ्यांक अनुसार देशभर १२ हजार ७ सय ८९ जनाले स्वतन्त्र उम्मेदवार दिएका छन् ।दलबाट बागीहालेका स्वतन्त्रसमेत यो तथ्यांकमा यसमा समावेश छन् । उनीहरु भोलि दलकै संरचनामा फर्किनेछन् । जो कुनै दलको आड नलिईस्वतन्त्र बनेका छन्, उनीहरु स्थानीय मुद्धामा केन्द्रीत रहे आगामी निर्वाचनमा बहार आउने देखिन्छ । मुलतः राजनीतिक दलहरुप्रतिको विकर्षण नै स्वतन्त्रप्रतिको आकर्षण बनिरहेको छ ।