मौसम

बागलुङमा ४१ घर विस्थापित, ७ घर उच्च जोखिममा


काठमाडौँ – नेपालमा मनसुन सुरु भएदेखि निरन्तर रुपमा वर्षा परिरहेको छ । गत सोमबारदेखि परेकोको पानीले पहाडी जिल्ला बागलुङमा ४१ घर परिवार विस्थापित भएका छन् । विस्थापित भएका अधिकांशको घरमा पूर्ण क्षति भएको छ भने केहीको आशिंक क्षति भएको छ ।

बाढी पहिरोका कारण जिल्लामा ७ घर उच्च जोखिममा परेको र जुनसुकै बेला विस्थापित हुन सक्ने जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक इकवाल हवारीले जानकारी दिए ।

लगातारको वर्षापछि आएको बाढी पहिरोले जिल्ला सदरमुकामसँग जोडिएका अधिकांश ग्रामीण सडक बन्द भएका छन् । जिल्लाको ताराखोला गाउँपालिकामा घर माथिबाट पहिरो खस्दा वडा नम्बर– ५ स्थित भिरकुना भन्ने ठाउँका लिलाबहादुर विक, मिठे विक, टिकाराम विकको घरमा क्षति पुगेर विस्थापित भएका छन् ।

प्रहरीका अनुसार बागलुङ नगरपालिका– ७ पैरावारीमा घरमाथिबाट आएको पहिरोले एक घर भत्काएको छ भने एक घर उच्च जोखिममा पारेको छ । पहिरोका कारण स्थानीय रबिलाल गौतमको घर गोठ भत्काएको र गोठमा रहेको भैसी पुरिएको छ भने सोही स्थानका महेन्द्र गौतमको घर उच्च जोखिममा परेर परिवार विस्थापित भएका छन् ।

यस्तै, वर्षाका कारण बागलुङ नगरपालिका– ४ स्थित नन्दलाल पौडेलको घर भत्केको, सोही स्थानका प्रदीप शेरचनको दुई तले पक्की घर पहिरोको कारण घर उच्च जोखिममा परेको छ । माया जिसीको इटाले बनेको एक तले कच्ची घर पहिरोको कारण घर उच्च जोखिम परेपछि विस्थापित भएको प्रहरी कार्यालयका सूचना अधिकारी हवारीले जानकारी दिए ।

बागलुङ नगरपालिका १३ फर्सेडाँडा बस्ने पार्वती पौडेलको घर वरीपरी पहिरो खसेपछि घर उच्च जोखिममा परेको, बरेङ गाउँपालिका–१ भ्युडाडा बस्ने विशाल बिकको घर जोखिममा रहेकाले विस्थापित भएका छन् ।